aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा नेपाल

काठमाडौं । विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार र शुक्रबार आयोजना गरेको दुई दिने ऊर्जा सम्मेलनमा २१ देशका ७६४ सरोकारवालाको सहभागिता र ७९ वक्ता समेतले नेपालको जलविद्युत् दक्षिण एसियाली मुलुकका लागि प्राकृतिक ब्याट्री हाउसका रूपमा स्वीकार गरेका छन् ।

सम्मेलनका सहभागीले नेपालको जलविद्युत् बङ्गलादेश, भुटान, भारत र नेपालबीच नवीकरणीय ऊर्जाको निर्बाध पहुँच विस्तार गर्न अपरिहार्य रहेको स्वीकार गर्दै उत्पादनलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् । नेपालको विद्युत् आन्तरिक तथा क्षेत्रीय खपतका लागि बजारको कुनै समस्या नरहेको निष्कर्ष पनि सम्मेलनले निकालेको छ ।

सम्मेलनले विगतमा विद्युत् अभाव बेहोरेको नेपाल अब विद्युत् निर्यात मुलुक बन्ने गर्वपूर्ण अवस्थामा प्रवेश गर्न लागेको र यहाँको क्षेत्रीय विद्युत् आपूर्तिको नियमितताका लागि अत्यावश्यक रहेको ठहर गरेको छ । क्षेत्रीय बजारमा विद्युत् पहुँचका लागि प्रसारण लाइन निर्माण, तिनको अन्तरसन्जाल विस्तारलाई अझै प्रवद्र्धन गर्न सके ठूलो बजार हिस्सा प्राप्त हुने निष्कर्ष निकालेको छ । इप्पानका महासचिव आशिष गर्गले भने, “बीबीआईन क्षेत्रमा नियमित विद्युत् आपूर्ति र गुणस्तरीयता प्रदान गर्न नेपालको विद्युत् अत्यावश्यक देखिएको महसुस सम्मेलनले गराएको छ । उत्पादन बढाउँदै लग्ने र नेपाल, भारत, बङ्गलादेश र भुटानका विद्युत् नीति तथा प्रसारण लाइनमा सामञ्जस्यता ल्याउन आवश्यक देखियो ।”

सम्मेलनले जलविद्युत् लगानी विस्तारका लागि विदेशी मुद्रा अवमूल्यनको खतरा व्यवस्थापन, स्थानीय पुँजी परिचालन, लगानीको वातावरण सुधार तथा सहज व्यवसाय वातावरण निर्माणमा अझै सुधार गर्नुपर्ने देखिएको औँल्याएको छ ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गदैृ नवनियु्क्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्था देखिए पनि बढ्दो आन्तरिक खपत र चीन, भारत तथा बङ्गलादेशको विद्युत् आवश्यकतालाई हेरेर ठूला जलविद्युत् सञ्चालन गर्न आवश्यक देखिएको औँल्याए । छिमेकी मुलुक तथा अन्य लगानीकर्ताको सहयोगमा हामी हजार मेगावाट क्षमताका विद्युत् आयोजना निर्माणमा अतुर छाैँ, कथाले यही मागेको छ, उनले भने ।  यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस