aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’

सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला रु वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड । तिनैले बिहान सबेरैदेखि रातिसम्म भारी बोक्दा हिमाली जीवन केही सहज भएको छ ।

काठमाडाैं । नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा महँगो परिरहेकै अवस्थामा मुगुको गमगढी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्रीसम्म यिनै खच्चडले बोक्छन् । भारी बोक्ने खच्चडले सर्वसाधारणलाई राहत महसुस भएको छ भने रोजगारी पनि सिर्जना भएको छ ।

चङ्खेली गाउँपालिका–२, दार्मका लोकेन्द्र शाहीले यी ट्र्याक्टरको प्रयोग गर्न थालेको चार वर्ष भयो । आम्दानीको बलियो माध्यम भएकाले उहाँका लागि यी खच्चड सबै थोक हुन् । महिनामा डेढ लाख रुपियाँसम्म आम्दानी यसै माध्यमबाट हुने उनी बताउँछन् ।

मुगुको गमगढीबाट हुम्लाको चङ्खेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान, इन्धन, लिटोलगायत सामग्री ढुवानी गर्ने काम पाउँदा कमाइ पनि राम्रै भएको छ । दुःख पनि बढी हुने र कमाइ पनि राम्रो हुने देखिएपछि शाहीले यो व्यवसाय अँगाल्दै आएका हुन् ।

तीन जना श्रमिकलाई परिचालन गरेर ३५ वटा खच्चड एकसाथ ढुवानीका लागि प्रयोग हुँदै आएको शाहीले बताए । सडक सञ्जाल जोडिएका ठाउँमा यातायातका साधनहरू सञ्चालनमा आए पनि नेपालको एक मात्र सडक यातायात नजोडिएको हुम्ला जिल्लामा यिनै खच्चडलाई ट्र्याक्टरको संज्ञा दिन्छन् उनी । यीनै ट्र्याक्टरले गर्दा चर्को हवाई ढुवानीको मारमा परेका जनतालाई केही मात्रामा भए पनि राहत मिलेको छ ।

यता जाजरकोट जिल्लाको लिम्सा गाउँपालिका–४ का अर्का खच्चड व्यवसायी नेत्र सिंह पनि यिनै हुम्लाका ट्र्याक्टरका मालिक हुन् । यी २४ वटा ट्र्याक्टरबाट एक पटकमा एक हजार ४४० केजी सामान ढुवानी हुने गरेको छ । सामान ढुवानी गरेबापत उनले ९२ हजार १६० रुपैयाँ पाउँछन् । यो क्रम महिनामा तीनपटक चल्ने गर्छ । अहिले त उनलाई देख्नेबित्तिकै हुम्लाको ट्र्याक्टर मालिक भनिहाल्छन् सेवाग्राहीले ।

हुम्लादेखि मुगु, जुम्ला, बाजुरा र जाजरकोट जिल्लासम्मका मानिसले यो व्यवसाय अंगाल्दै आएका छन् । हाल उक्त क्षेत्रमा बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म खच्चडहरू हिँडाउने गरिन्छ । मौसम पनि सफा भएका कारण पछि हिमपात होला भन्ने डरले ती व्यवसायीले रातदिन नभनी सामान ढुवानी गर्ने गरेका हुन् ।
मुगुदेखि सिमकोटसम्म प्रतिकेजी सामानको ढुवानी मूल्य ६४ रुपियाँ रहेको छ । एक खच्चडले ६० केजीसम्म एक पटकमा भारी बोक्ने गर्छ । सडक सञ्जाल नजोडिएको हुम्लाका ट्र्याक्टरहरूका कारण दैनिक उपभोग्य सामानदेखि सबै प्रकारका सामानको मूल्य घटेको उद्योग वाणिज्य संघका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । त्यही सामान नेपालगन्ज वा सुर्खेतबाट हवाई ढुवानी गर्दा प्रतिकेजी १०५ देखि १५० रुपियाँ पर्न जान्छ । केही वर्षयता सस्तो ढुवानीमा खच्चडमा सामान आउँदा महँगी घटेको उनले बताए । यसले सर्वसाधारण जनतालाई राहत पुगेको छ । याे समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस