काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा दुई मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले साढे ४ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात गरेका छन् । टेलिकम कम्पनीहरूले पूर्वाधार निर्माणमा तीव्रता दिएसँगै यस वर्ष दूरसञ्चार उपकरण आयात ह्वात्तै बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालू आवको पहिलो चौमासिकसम्ममा टेलिकम कम्पनीहरूले चार अर्ब ५६ करोड १९ लाख रुपैयाँका दूरसञ्चार उपकरण आयातको सिफारिश लिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ५४ करोड ८७ लाख रुपैयाँ बराबरका उपकरण आयात भएको थियो ।
प्राधिकरणका अनुसार साउनदेखि कात्तिक महीनासम्म नेपाल टेलिकम र एनसेलबाहेक अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी लगायत कुनै कम्पनीले उपकरण आयात गरेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले देशैभर फोरजी विस्तार तथा पुराना उपकरणको स्तरोन्नतिका कारण उपकरण आयात बढी भएको बताए । हाल टेलिकमले ३२ जिल्लाका ५९ शहरमा फोरजी सेवा दिइसकेको छ ।
नेपाल टेलिकमले मात्र यो अवधिमा २ अर्ब ७८ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको उपकरण भिœयाएको छ । ठूला परियोजनाका काम चलिरहेकाले उपकरण आयात बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘३२ जिल्लामा फोरजी सेवा पुगे पनि अभैm धेरै ठाउँमा फोरजीको पहुँच पु¥याउन बाँकी छ,’ उनले भने, ‘अझै उपकरण आयात हुनेक्रममा छ ।’
नेटवर्क कनेक्टिभिटी, नेटवर्किङ, बीटीएस टावर लगायत पूर्वाधार निर्माणमा टेलिकम केन्द्रित रहेकाले उपकरण आयात बढी भएको अधिकारीको भनाइ छ । उनका अनुसार अन्य महीनाभन्दा असोजमा टेलिकमको उपकरण आयात बढी देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस