aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विद्युतिय भुक्तानीमा कर छुट : थ्रेस होल्ड राख्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
विद्युतिय भुक्तानीमा कर छुट : थ्रेस होल्ड राख्ने तयारी

काठमाडौं । वस्तु वा सेवा खरीद गर्दा विद्युतीय माध्यमबाट हुने भुक्तानी (ई–पे) गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने सरकारी नीतिअनुसार कर छूटका लागि ‘थ्रेस होल्ड’ राखिने भएको छ । आन्तरिक राजस्व विभागले ‘थ्रेस होल्ड’ राख्न आवश्यक गृहकार्य भइरहेको बताएको हो । 

कर फिर्ता गर्न कार्यविधि निर्माणको काम भइरहेको र त्यसमा कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए । उनका अनुसार ई–योजना कार्यान्वयनमा ल्याउन २ महीनाभित्र कार्यविधि बनाउने गरी आन्तरिक राजस्व विभागले छलफल अघि बढाएको छ । ‘कार्यविधि बनाउने काम थालिसकिएको छ, हामी थ्रेस होल्ड कति राख्ने भन्नेबारे छलफलमा छौं, डेढदेखि २ महीनाभित्रै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई कर छूट दिनेगरी काम भइरहेको छ,’ उनले भने । 

विद्युतीय भुक्तानी सेवाप्रदायक भन्नाले ई–सेवा, आईएमई पे, खल्ती, थैली, प्रभु पे, सेल पे लगायत पर्छन् । चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्ताले आफ्नो कुनै समान किन्दा भुक्तानी बैंक कार्डबाट गरे कुल भ्याटको १० प्रतिशत फिर्ता दिने घोषणा गरेका थिए ।  

तत्कालका लागि भुक्तानी सेवाप्रदायकमार्फत हुने विद्युतीय भुक्तानीमा यो योजना कार्यान्वयन हुने भए पनि बैंकका डेविट र क्रेडिट कार्डबाट सामान किन्दा भने यो सुविधा नपाइने भएको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि कुनै व्यक्तिले आफूले किनेको सामानको भुक्तानी कार्डबाट गरे कुल भ्याटको १० प्रतिशत रकम सो व्यक्तिको खातामा फिर्ता हुनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस