aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?

टीकापुर । टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा १० धुर शिवालय भएको क्षेत्र हो भने ६ कट्ठा चार धुर दानबापत प्राप्त भएको हो। स्थानीय हरिओमप्रसाद श्रेष्ठले ६ कट्ठा र हरिकुमार कार्कीले चार धुर जमिन शिवालयका नाममा दान गरेका हुन्। उक्त शिवालय हाल पद्म प्रकाशेश्वर महादेव मन्दिरका नामले चिनिन्छ।

शिवालयका नाममा पहिला भएको सात सय बिघा अहिले कुन अवस्थामा छ भन्नेबारे कसैलाई जानकारी छैन। शिवालयका नाममा रहेको सात सय बिघा कहाँ गयो भन्ने विषयमा खोजीनिती हुन नसकेको मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर कायस्थ बताउँछन्। ‘शिवालयका नाममा सात सय बिघा थियो भन्ने प्राप्त प्रमाणले देखाउँछ,’ उनले भने, ‘तर त्यसको आधिकारिकता हामीसँग छैन।’

शिवालयका नाममा जमिन भएको कुरा पुुरातत्व विभागले प्रकाशन गरेको ‘प्राचीन नेपाल’ नामक जर्नलमा उल्लेख छ। सो जर्नलमा शिवालयको जमिन भारतको तिकुनियाँ, बेलराया, सिघाईसम्म थियो भन्ने पनि उल्लेख छ। यही कुरा पूर्णप्रकाश नेपालले प्रकाशन गरेको ‘सेतीको नालीबेली’ पुस्तकमा पनि छ। सो किताबमा उक्त शिवालयका नाममा १२ गाउँ रहेको उल्लेख छ।

पुस्तकका अनुसार ती गाउँ पुछवाड, गोलगाउँ, गोकर्ण नाथलगायत छन्। मन्दिर संरक्षण समितिका अध्यक्ष कायस्थ तिनै गाउँ हालका पुछरी, गोलालगायत हुन सक्ने बताउँछन्। नेपालको पुस्तकमा कलुवापुर रजवारकी पत्नी रानी पद्मकुमारी शाहले १९७२ सालमा उक्त शिवालय जीर्णोद्धार गरेको उल्लेख छ। तर स्थानीय बासिन्दा १९४० सालमै शिवालयको जीर्णोद्धार भएको प्रमाण भेटिएको दाबी गर्छन्। स्थानीय शिवालयमा प्रयोग भएको १९४० लेखेको इँटालाई प्रमाणका रूपमा औंल्याउँछन्।

‘सेतीको नालीबेली’ मा रानी पद्मकुमारी सती गएपछि उनका आफन्तले शिवालयको जमिन बेचबिखन सुरु गरेको हुन सक्ने उल्लेख छ। मन्दिर संरक्षण समितिका अध्यक्ष कायस्थ यस कुराले त्यति बेलासम्म पनि शिवालयका नाममा धेरै जमिन रहेको पुष्टि हुने बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस