काभ्रे । राजधानीसँगै जोडिएको काभ्रे जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् । बिजुलीको आन्तरिक खपत बढाउने विकल्पको विषयमा अहिले चर्चा भइरहँदा यी दुई गाउँपालिकामा भने बिजुलीको उपयोगबाटै आर्थिक क्रियाकलाप बढिरहेका छन् । बिजुलीको सीमित पहुँचका बीच पनि स्थानीय खुसी छन् ।
काभ्रेको तेमाल गाउँपालिकाका केही बस्तीमा पनि व्यवस्थित विद्युतीकरण भइसकेको छैन तर पनि बिजुलीको अभाव भने छैन ।
परम्परागत तर स्थानीय आवश्यकता पूर्ति गर्नसक्ने घट्ट यी गाउँलाई उज्यालो बनाउने सस्तो र भरपर्दा माध्यम बनेका छन् । यी तीनवटै गाउँपालिकामा घट्टबाटै बिजुली आपूर्ति हुँदै आएको छ, त्यो पनि एक दशकअघि देखि नै । बाँकी केही ठाउँमा बिजुली बाल्न यतिबेला स्थानीय सहयोगको खोजीमा छन् । अहिलेसम्म जिल्ला घट्टधनी सङ्घमार्फत यी गाउँमा सुधारिएको घट्टमार्फत विद्युत् उत्पादन गरिएको हो ।
घट्टधनी सङ्घ काभे्रका अध्यक्ष शिवशरण श्रेष्ठले काभे्रका विकट गाउँमा १५ वटा घट्टबाट विद्युतीकरण गरिएको बताए । जिल्लाभर ६३ किलोवाट विद्युत् घट्टमार्फत उत्पादन भइरहेको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस