काठमाडौं । नेपालमा गैरकानुनी आर्थिक क्रियाकलाप बढेको बताइए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो वर्ष ६ वटा मात्र मुद्दा दायर गरेको छ। विभागले गत वर्ष नौवटा मुद्दा दायर गरेको थियो।
गत वर्षको तुलनामा धेरै प्रतिशत भए पनि संख्यात्मक रुपमा निकै कम हो। विशेष अदालतमा दायर गरेका एउटाबाहेक सबै सडकमा चेकजाँचको क्रममा मोटो रकम लिएर हिँडेका व्यक्तिले उक्त रकमको आयस्रोत देखाउन नसकेपछि चलाइएका मुद्दा छन्। राज्यमा हुने भ्रष्टाचार र भूमिगत वा अनौपचारिक अर्थतन्त्रविरूद्ध लड्न सघाउ पु¥याउन विभागले काम गर्नुपर्ने भए पनि अपेक्षित परिणाम देखिएको छैन।
२०६८ साल स्थापना भएको विभागले आठ वर्षमा करिब चार दर्जन मात्र मुद्दा दायर गरेको छ। अवैध धनसँग सम्बन्धित करिब चार सय फाइलमाथि अनुसन्धान गरिरहेको विभागका सूचना अधिकारी विनोद लामिछानेले बताए। ‘११ सय उजुरी र सूचनालाई स्क्रिनिङ गरेर चार सय मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ लामिछानेले नागरिकसँग भने, ‘अनुसन्धान गर्न लामो समय लाग्ने भएकाले मुद्दा दर्ता गर्ने चरणमा पुग्न समय लाग्छ।’ ठूलो संख्यामा उजुरी आए पनि विभागले अपेक्षित परिणाम देखाउन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस