aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भैरहवा र विराटनगरमा पनि ‘बल्क कार्गो’ सञ्चालनमा ल्याउन सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
भैरहवा र विराटनगरमा पनि ‘बल्क कार्गो’ सञ्चालनमा ल्याउन सहमति

काठमाडौं । नेपाललाई थप दुई नाकाबाट बल्क कार्गो सुविधा दिनेबारे काठमाडौंमा हुने सहसचिवस्तरीय ‘नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक’मा सहमति हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

मंगलवार र बुधवार गरी २ दिनसम्म काठमाडौंमा हुने सहसचिवस्तरीय बैठकमा यसबारेमा सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारलाई सहजीकरणका लागि थप दुई नाका, विराटनगर तथा भैरहवामा पनि वीरगञ्जमा झैं तेस्रो मुलुकको बल्क कार्गो सीधै रेलमार्गबाट ढुवानी हुनेछ । हाल बल्क कार्गोको सुविधा वीरगञ्जमा मात्रै उपलब्ध छ । 

ठूलो परिमाणमा तेस्रो मुलुकबाट नेपाल आयात गरिने सामान मुख्यगरी कोइला, मल, स्टील, फलाम र औद्योगिक कच्चा पदार्थ बल्क कार्गोमार्फत ल्याइन्छ । थप दुई नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाएपछि औद्योगिक कोरिडोरमा प्रयोग हुने वस्तुहरूको आयात गर्न सहज हुने मन्त्रालयका सहसचिव तथा वार्तामा नेपाली प्रतिनिधिमण्डलका संयोजक नवराज ढकालले बताए । ‘थप दुई भन्सार नाकाबाट बल्क कार्गो प्रयोग गर्न पाउँदा आयातलाई मात्र फाइदा नभई निर्यातमा पनि फाइदा हुन्छ,’ उनले भने ।

दुई दिनसम्म काठमाडौंमा चल्ने बैठकमा तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न पारवहन पुनरवलोकन गर्ने विषयमा केन्द्रित हुनेछ । मन्त्रालयका अनुसार तीन प्रदेशबाट बल्क कार्गो सञ्चालनमा आउँदा वीरगञ्ज भन्सारको चाप घट्नुका साथै सोही भन्सार नाका हुँदै बल्क कार्गोबाट सामान आयात गरेर अन्य स्थानमा पुर्याउनुपर्ने बाध्यता हट्ने छ ।

थप दुई नाकामा बल्क कार्गो सञ्चालनमा आएपछि विराटनगरबाट पूर्वी नेपाललाई र भैरहवाबाट पश्चिम नेपाललाई आवश्यक पर्ने वस्तु आयात गर्न सकिन्छ । यसबाट ढुवानीको अतिरिक्त समयसमेत बचत हुने र समग्र व्यापारमा सुधार आउने मन्त्रालयको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस