aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंकिङ कसुर गरेको अभियोगमा एकदिने कैद सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
बैंकिङ कसुर गरेको अभियोगमा एकदिने कैद सजाय

ललितपुर । बैंकिङ कसुर गरेको अभियोगमा एक जना व्यक्तिलाई उच्च अदालत पाटनले एकदिने कैद सजाय सुनाएको छ। अदालतले ती अभियुक्तबाट चार लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। अभियुक्तले नख्खु सुधार गृहबाट एकदिने कैद भोगिसकेको कारागार प्रशासनले जानकारी दिएको छ।

नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कारागारमा साढे २१ वर्षदेखि जेल सजाय भोगिरहेकाहरू पनि छन्। तर, एकदिने कैदबारे कहिल्यै नसुनेकाले आश्चर्यमा परेको बताए। ‘यति लामो जागिरे जीवनमा यस्तो घटना कहिल्यै देखिनँ,’ पौडेलले भने, ‘यो पहिलो घटना हो।’

किन र कस्तो परिस्थितिमा यस्तो सजाय हुन्छ भन्ने विषयमा आफू खासै जानकार नभएको समेत जनाए। पौडेलका अनुसार नख्खु सुधारगृहमा बढीमा २१ वर्ष ६ महिनादेखि एकदिने कारावास सजाय पाउनेसमेत रहेको जानकारी दिए। उनले भने, ‘एकदिने होस् या १० वर्ष। सजायको महŒव एउटै हो।’ आफूले गरेको गल्ती महसुस गराउनका लागि यस्तो गरेको हुन सक्ने उनको बुझाइ छ।

उच्च अदालत पाटनले कात्तिक १७ गते एकदिने कैद गर्ने निर्णय सुनाएको थियो। उच्च अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता मोहन सुवेदीका अनुसार उक्त मुद्दामा बाबुराम सुयलले जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा सुजनकुमार बुढाथोकीले बैंकिङ कसुर गरेको अभियोगमा एकदिने कैद पाएका हुन्। साथै, बुढाथोकीले जरिवाना रसिद नम्बर ११७४१ मा सुयलको नाममा चार लाख रुपैयाँ अदालतमा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस