
काठमाडौं । महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो ।
बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत रहेका थिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको थियो ।
दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन् ।
‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ ।’
प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए। चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो। गाडी काठमाडौं(रामेछाप रुटको हो ।
जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो। त्यसदिन सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस