काठमाडौं । बैंकका कर्मचारी र गिरोहको मिलेमतोमा राजधानीमै फर्जी कागजात बनाएर १९ वटा बैंकको रकम चोरी भएको छ। चोरीमा संलग्न आरोपमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
फर्जी कागजका आधारमा खोलिएका खाता र एटीएम कार्डमार्फत जनता बैंक, एनआईसी एसिया, माछापुच्छ्रे र मुक्तिनाथलगायत १९ वटा बैंकका शाखाबाट पैसा चोरी भएको हो । घटना थाहा भएपछि प्रहरी, राष्ट्र बैंक र रकम चोरिएका एनआईसी एसिया, माछापुच्छे जनता र मुक्तिनाथलगायत बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारीको मंगलबार प्रहरी परिसर टेकमा आकस्मिक बैठक भएको थियो।
राष्ट्र बैंक र बैंकरहरूले घटनाको सत्यतथ्य बाहिर ल्याइदिन प्रहरीलाई आग्रह गरेका छन्। सर्भर दुपयोग र फर्जी कागज बनाएर रकम चोरिएको भेटिएपछि प्रहरीले सम्बन्धित बैंकहरूबाट खाता, एटीएम र चेकबुक जारी गर्नेसहित विभिन्न तहका कर्मचारीमाथि अनुसन्धान थालेको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ। पक्राउ परेका कर्मचारीहरूको विवरण भने अनुसन्धानमा असर पुग्ने भन्दै प्रहरीले गोप्य राखेको छ।
प्रहरीका अनुसार यसअघि अन्य बैंकको सिस्टम ह्याक र फर्जी कागज प्रयोग गरेर अनधिकृत रूपमा पैसा झिकिएको भए पनि एकैपटक डेढ दर्जन बैंक गिरोहको निसाना परेको यो पहिलो घटना हो। विभिन्न बैंकबाट गरेर कति रकम चोरी भएको हो भन्ने विवरण प्रहरीले खुलाइसकेको छैन। प्रहरीको छानबिनमा परेको जनता र ग्लोबल आईएमई बैंक मर्जरका क्रममा छन् । गत असारमै दुई बैंकबीच मर्जर गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस