aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दिल्ली एयरपोर्टमा किन पारिन्छ नेपालीलाई बेहाल ?

  • कृष्णराज पाण्डे
    कृष्णराज पाण्डे
  • बुधबार, ११ मंसिर २०७६
दिल्ली एयरपोर्टमा किन पारिन्छ नेपालीलाई बेहाल ?

दिल्ली । भारतीय एयरपोर्टमा नेपालीहरुलाई भारतको अध्यागमन कर्मचारीहरुले प्लेन चढ्नबाट रोक्दै आएका छन् । लाखौँ नेपाली यात्रुहरु यात्रा का क्रममा बिचल्लीमा पर्दै र पैसाको नाश हुँदा पनि, भारत र नेपालको प्रशासनले नेपाली यात्रीहरुलाई भारतबाट न उड्न सूचना पनि निकालेको छैन। यस्तो गैर जिम्मेदारी र लापरवाहीले गर्दा आज पनि कुनै न कुनै नेपालीलाइ भारतीय एयरपोर्टबाट फिर्ता पठाइदैछ ।

हुन त नेपाली  जनतामा लोकप्रियता पाउन, चुनाव जित्न वा राष्ट्रवादीको पदवी पाउनका लागि भारत र भारतीयतालाई भरपूर गाली गर्नेको संख्या ठुलै छ नेपालमा तर भारतमा नेपालीहरु ठगिने, लुटिने र अनावश्यक दुख पाउने नियतिको अन्त्य गर्ने कदम भने कसैले चालेको छैन। जसको कुनै सुनुवाई र क्षतिपूर्ति हुन् सकिरहेको छैन ।

बिडम्बना नै भन्नुपर्छ, रोजी रोटीको लागि भारत जाने नेपाली हुन् या दैनिक आवस्यकताका सामग्री किनमेल, औषधि उपचार गर्न या नातागोता भेट्न जाने नेपाली हुन् उनीहरु सबै ठगिने गर्छन् भारतमा  ।  सीमा पार हुनासाथ रिक्सा, जीप, बस, ट्रेन, पसले, होटल, रेस्टुरेन्ट,अस्पताल, क्लिनिक जहाँपनि शिकार बन्छन् नेपाली  । उनीहरुले \ मनपरी पैसा असुल्छन, ठग्छन र यदाकदा जबर्जस्ती पैसा खोस्छन पनि । गाली र अमर्यादित व्यवहार त सामान्य नै हुन्छ  । तर, त्यो सबै देख्ने कोही   केहि बोल्दैन । यी कुराहरु तत्काल नेपाल प्रहरी, नेपाली दूतावास र नेपाल -भारत सीमा अधिकारीहरुको नियमित संयुक्त बैठकमा पटक पटक पेश हुन्छन तर,  कहिले पनि सकारात्मक नतिजा आएको कुरा सार्वजनिक भएको छैन । यस्तो पीडा भोग्नु नेपालीको नियति भैसकेको छ ।

 नेपालीको पासपोर्टमा भारत प्रवेशको भिसा चाहिने !

नेपालीहरु भारतको बाटोबाट, खास गरेर नयाँ दिल्लीबाट विदेशको हवाई यात्रा गर्दा भाडामा निकै अन्तर पर्ने हुनाले सस्तो र सुलभ यात्राको लागि त्यहाँको एयरपोर्ट रोज्छन् । मध्यदेखि पश्चिम नेपालका नेपालीहरुका लागि दिल्ली निकै छोटो र कम खर्चमा पुगिने शहर हो । त्यसैले पैसा र समयको बचतको लागि दिल्ली एयरपोर्ट नेपालिको रोजाइमा पर्ने गर्दछ । तर, दिल्लीस्थित एयरपोर्टको अध्यागमनले नेपाली पासपोर्टधारीलाई अमेरिका, युरोपका देशहरु र अस्ट्रेलिया समेत जानलाई प्रस्थान आज्ञा दिने डेस्कमा दुख दिन्छन् । नेपालबाट भारतमा प्रवेश गरेको भिसा, छापको माग गर्छन्, सबै देखाउनुस भन्छन् ।

यात्री यो प्रश्न सुनेर अक्मकिन्छ, चकित पर्छ र ति कर्मचारीलाई नेपाल भारतको खुल्ला सीमा र स्वतन्त्र आवागमनबारे थाहा नहोला भन्ने ठानी यस बारेमा कुरा बुझाउन खोज्छन् । एअरर्लाइन्सका अफिसरले पनि कुरा प्रस्टयाउन कोशिस गर्छन् तर इमिग्रेशनका कर्मचारीले स्टाम्प बाहेक अरु शब्द न सुन्न चाहन्छन् न त बोल्न नै चाहन्छन्  ।

यात्रीले नेपाली दूतावासको नोटिसबोर्डमा टासिएको खाडीका नौ वटा देश जान परेमा दूतावासको सिफारिस  (नो अब्जेकसन्  सर्टिफिकेट) चाहिने भन्ने सूचनाको फोटो र  नेपालबाट सोझै दिल्ली जाने अन्तरराष्ट्रिय यात्राका बस या सीमा क्षेत्रबाट दिल्ल्ली जाने बस या ट्रेनको टिकेट पेश गर्दा पनि त्यहाँ सुनुवाही हुँदैन । नेपाल गएर काठमाण्डौंबाट अध्यागमनको स्टाम्प लगाएर प्लेन चढेर दिल्ली ऐरपोर्ट आएपछि बल्ल विचार हुनेछ भन्छन् ।  प्रस्थान आज्ञा दिन हाकिम देखी कारिन्दा सबैले इन्कार गर्ने गरेका छन् ।

नेपालको अध्यागमन अधिकारीसँग हैसियत नमिल्ने !

यात्रीले दूतावासको हटलाइनमा सम्पर्क गरेर इमिग्रेशन अधिकारीलाई कुरा गराउन खोज्दा भारतीय अधिकारीले दूतावासको अधिकारीसंग हाम्रो पदिय समानता छैन, हामीले कुरा गर्न मिल्दैन भन्ने गरेका छन् ।  उनीहरु फोन नै छुदैनन् । आखिरमा यात्री निर्विकल्प हुन्छन् । अन्त्यमा प्लेन छुट्छ ।

एयर्लाइन्समा  बुझाईसकेको माल सामान फिर्ता लिन त्यतिकै गाह्रो पर्छ। मुडकी बल देखाएपछी जुनसुकै स्तरको यात्री होस् के नै गर्न सक्छ र ! यात्रीको माल सामान र बालबच्चा पनि छन् भने सबै बोकेर दूतावास पुग्छ, दुखेसो सुनाउछ । तर, त्यस्ता घटना सुन्दै आएको दुताबास बिचरा बनेको रहेछ । उनीहरु एक थान  पत्र लेखेर दिन्छन्, त्यो बाहेक अरु केही गर्न सक्दैनन् ।

अब यात्री इन्टर्नेशनल टिकटको लागि दौडन्छ, कति दिनपछिको टिकट पाइन्छ ?  टिकटको अन्तर रकम कति तिर्नु पर्छ ? अर्को उडानसम्म के खाएर कहाँ बस्ने  ? गन्तव्य देशको डोमेस्टिकले पहिलेको टिकेटमा नमिलाई दिएमा फेरी कहाँबाट रकमको जोहो गर्ने हो ? अचानक अप्रत्यासित समस्याको चांग लाग्न पुग्छ । समय र धनको सत्यानाश नै हुन्छ । 'चोक्टा  खान गएकी  .... झोलमा डुबी', भन्ने उखान चरितार्थ हुने गरेको छ । अझ रमाइलो त के भने दूतावासको सिफारिस पत्र लिएर दोश्रो पटक गएपछि इमिग्रशनले त्यो पत्र प्रायः हेर्दै हेर्दैन  । त्यतिकै 'जानुस' भनेर पठाउँछ ।

नेपालीको हकमा मनमौजी कानून 

 नेपाल र भारत बीच पारम्परिक मधुर सम्बन्ध रहेको र सन्धि सम्झौता अनुसार पनि कुनै भिसा वा पासपोर्टको जरुरत पर्दैन।  इन्ट्रीको प्रावधान नै छैन । तसर्थ यस्तो अवस्थामा पासपोर्टमा छाप लगाएको हुनुपर्ने भन्ने अत्तो थाप्नु दुख दिने बाहेक अरु के हुन सक्छ ?

नेपालबाट भारतमा कहिले प्रवेश गरेको भन्ने  ऐरपोर्टको अध्यागमनको प्रश्नको उत्तरमा, नेपालबाट सोझै दिल्ली जाने नेपाली नम्बरको बसको टिकट या सीमा क्षेत्रबाट दिल्ली जाने बस या ट्रेनको टिकेट दिंदा पनि नमान्ने रहेछन् । प्रश्न राख्ने तर उत्तर नमान्ने  कस्तो अचम्म !  यात्रीले  एयर टिकट, बसको टिकेट, विदेशको भिसा, दूतावासको सूचनाको फोटोकपी , दूतावासको छुट्टै पत्र समेतका  कागजमा पहिलो पटकमा नै  प्रस्थान आज्ञा पायो भने त्यसलाई भगवानको कृपा पाएको रुपमा बुझ्नु पर्ने अवस्था छ ।

दिल्ली एयरपोर्टमा अध्यागमनले नेपालीको हकमा कुनै नियम कानूनको पालन नहुने देखियो । आफ्नो मनले काम अर्हाएको गर्ने रहेछन्, त्यहाँका कर्मचारीले । प्रस्थान आज्ञा नपाएको यात्रीको अकारणमा धन र समयको नाश हुन्छ दिल्लीमा । यसरी हेर्दा ठूलो समस्यामा छन्, नेपाली  ।

यसरी बन्धक बन्छन्, विदेशबाट आएका नेपाली 

अझ एउटा हास्यास्पद कुरा पनि छ, दिल्लीमा । कुनै देशबाट दिल्ली एयरपोर्टमा झरेपछि त्यहाँबाट बाहिर निस्कन खोज्ने नेपालीलाई प्रवेश आज्ञाको लाइनमा जाँदा अध्यागमका कर्मचारीले अध्यागमनको प्रस्थानको बाटोमा गएर इमिग्रशन गराउनुस भन्छन् । यात्रीले म विदेश उड्ने होइन विदेशबाट आएकोले प्रस्थान आज्ञाको लाइनमा  त मेरो काम नै छैन भन्छन् । जवाफ आउँछ, ' त्यसोभए जसरी जान सक्छौ जाउ।' अब यात्रीसंग उपाय के, उ कहाँ जाने ? उनीहरुले भने अनुसार नगरे  उ न त बाहिर निस्कन सक्छ न त अन्त कतै हिड्न मिल्छ । उ त त्यहीं किलो गाडिए झैं हुन्छ । यसरी सामान्य नियममा हिंड्न खोज्दा नेपाली बन्धक हुन्छ, दिल्ली एयरपोर्टमा ।

नौ देशको लागि आवश्यक छ दूतावासको सिफारिश

भारतीय अध्यागमनलाई यस्तो काम गरेर कुनै लाभ प्राप्त हुने होइन । उसले नेपालीलाई यसरी अकारण दुख दिनुको तात्पर्य केहो ? शायद यो प्रश्नको जवाफ छैन  । नेपाल सरकार र सरोकारवालाहरु यति हदसम्म निरिह भएर चुप लागेर अन्याय सहनुको कारण के हो ? यो प्रश्नको पनि जवाफ नभेटिनु आश्चर्यको कुरा होइन ।

नेपाली दूतावास दिल्लीले ९ वटा देश कुवेत, सउदीअरब, लेबनान, युएइ, ईराक, लीबिया, कतार,ओमान , बहराइन  जानलाई  हाम्रो  'नो अब्जेक्सन  सर्टिफिकेट'  लिएर मात्र जान दिनु भनि भारतीय इमिग्रेशनलाई भनेको रहेछ  ।  त्यो सूचना दूतावासमा टासेको पनि छ तर सो बाहेकका अन्य देश जाने यात्रीले एयरपोर्टमा जोसंग पनि नो अब्जेक्सन मागिन्छ भन्ने कुरा सुनेर पहिले नै नो अब्जेक्सन लेखिदिनोस भनेर दूतावासमा जाँदा रहेछन  ।  दूतावासले अरु देश जानलाई कुनै रोक छैन हाम्रो सूचनापाटीबाट सूचनाको फोटो खिचेर लानुस भन्दारहेछन् तर इमिग्रेशनले त्यसलाई मान्छ या मान्दैन यो उसको कुरा रहेछ ।

विदेशमा नेपालीहरुलाई विदेशमा के कस्तो समस्या आउन सक्छ र कस्तो समस्या आएको छ, यो समस्त नेपाली हरुलाई खबर गर्नु  प्रथम जिम्मेवारी नेपाल सरकारको हो । लाखौँ नेपालीहरु भारत एयरपोर्टबाट के के कारण र  बिना कारण फिर्ता भएका छन्, समस्त नेपालीहरुलाई खबर गराउन नेपाली सरकार र राजदुताबास असफल भएका छन् ।

नेपालबाट  भारत  र  भारतबाट  नेपाल  जानेलाई   दुवै  तिर  सुरक्षा  जांच  हुने  गरेको  छ   तर आफनो  देशको   नागरिकलाई आफनै देश भित्र प्रहरीले अकारण चेक गर्न मिल्ने होइन । चेक आगमनमा हुने हो, प्रस्थानमा होइन ।

प्रतिक्रिया दिनुहोस