काठमाडौं । बीमाशुल्क र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम भुक्तानी गर्ने अनलाइन प्रणाली नबन्दा विदेशबाटै नेपाली कामदारले पुनः श्रमस्वीकृति पाउन सकेका छैनन् । बीमा कम्पनी तथा वैदेशिक रोजगार विभागले विदेशबाटै अनलाइन भुक्तानी प्रणालीको विकास गर्न नसक्दा नेपाली कामदारहरू यसकै लागि मात्र नेपाल आउन बाध्य भएका छन् ।
वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य रूपमा नेपाली बीमा कम्पनीबाट म्यादी बीमा तथा कल्याणकारी कोषमा तोकिएको शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी दुई काम गरेपछि मात्र वैदेशिक रोजगार विभागबाट कामदारले वैदेशिक रोजगारीको स्वीकृति पाउँछन् । यस्तो श्रमस्वीकृतिको म्याद सकिएपछि पुनः स्वीकृतिका लागि कामदारले फेरि बीमाशुल्क बुझाउनु पर्ने हुन्छ ।
हाल विदेशमा रहेका नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृतिको व्यवस्था गरिए पनि अनलाइन प्रणाली नबन्दा दूतावासबाट पुनः श्रमस्वीकृति दिने कार्य अहिलेसम्म हुन सकेको छैन । कामदारले सम्बद्ध मुलुकमा भएको नेपाली दूतावासबाट दुई पटकसम्म पुनः श्रमस्वीकृति पाउन सक्ने प्रावधान छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले यस्ता समस्याका कारण दूतावासबाट अहिलेसम्म पुनः श्रमस्वीकृति दिन नसकिएको बताए । ‘कल्याणकारी कोषको शुल्क र बीमा नगरेसम्म हामीले श्रमस्वीकृति दिन मिल्दैन । तर, त्यहाँ (विदेश)बाट यी दुवै काम सम्भव नभएपछि श्रमस्वीकृति दिने काम अन्योलमा परेको छ,’ उनले भने, ‘हामीले बीमा कम्पनीहरूलाई अनलाइन भुक्तानी प्रणाली ल्याउन भनिरहेका छौं, तर अझै कम्पनीहरूले त्यसको व्यवस्था गरिसकेका छैनन् । यद्यपि, यस विषयमा गृहकार्य भइरहेको छ ।’
हाल कामदारहरूले पहिलोपटक विदेश जाँदा बीमा गर्दा लाग्ने शुल्क नगदमै बुझाउँदै आएका छन् । कामदारहरूले वैदेशिक रोजगार बीमा पुलमार्पmत म्यादी बीमा गर्नुपर्ने हुन्छ । १९ जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजागर बीमालाई एकद्वार प्रणालीमा ल्याउन गत माघदेखि उक्त पुल सञ्चालनमा ल्याएका थिए ।
कल्याणकारी कोषमा लाग्ने शुल्क भने सानिमा, ग्लोबल आईएमई, सेन्चुरी लगायत १२ वाणिज्य बैंकमार्फत बुझाइन्छ । तर, विदेशबाट पुनः श्रमस्वीकृति लिँदा उक्त शुल्कहरू भुक्तानी गर्न कुनै संरचना बनाइएको छैन । बीमा समितिले गत असोजमा नै कम्पनीहरूलाई यस्तो बीमाशुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था ल्याउन निर्देशन दिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस