aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पर्यटन मन्त्रालय मातहतका आयोजनाको समीक्षा : दुई अन्तरराष्ट्रिय विमानस्थलको काम सन्तोषजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
पर्यटन मन्त्रालय मातहतका आयोजनाको समीक्षा : दुई अन्तरराष्ट्रिय विमानस्थलको काम सन्तोषजनक

काठमाडौं । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये पाँचओटा आयोजना सम्हालेको पर्यटन मन्त्रालयले आफू मातहतका प्रमुख आयोजनाहरूका बारेमा विस्तृत समीक्षा शुरू गरेको छ । 

पर्यटन मन्त्रालय अन्तर्गत गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका छन् । 

तीन विमानस्थलमध्ये गौतमबुद्ध र पोखराको काम सन्तोषजनक भए पनि निजगढ अन्तरराष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । आयोजना निर्माणपूर्वका तयारीका काम नै अगाडि बढ्न नसक्दा महत्त्वाकांक्षी निजगढ विमानस्थलको कामले गति लिन नसकेको हो । 

मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो चौमासिकमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको कुल प्रगति ८४ दशमलव २५ प्रतिशत रहेको छ । भौतिक निर्माणको काम २०१९ भित्रै पूरा गर्नुपर्ने तालिका रहे पनि यस आयोजनाको हालको अवस्था हेर्दा समयावधि थप गर्नुपर्ने स्थिति आउने देखिन्छ । 

त्यस्तै, पहिलो चौमासिकसम्ममा पोखरा क्षेत्रीय विमानस्थलको ५० प्रतिशत काम पूरा भइसकेको मन्त्रालयले बताएको छ । सन् २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलको धावनमार्ग बनिसकेको छ भने अन्य भौतिक निर्माणका काम जारी रहेकोे छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले मंसिरभित्रै निजगढको शिलान्यास गर्ने बताए पनि निर्माणको प्रक्रिया अगाडि बढाउन आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अभैm हुन सकेको छैन । सरकारले गत असोज महीनामा विमानस्थल निर्माणका लागि स्वीट्जरल्यान्डको जुरिच इन्टरनेशनल एअरपोर्ट (एजी) लाई छनोट गर्ने निर्णय गरेको थियो । चालू आवको पहिलो चौमासिकसम्ममा यस आयोजनाका लागि छुट्याएको कुल बजेटमध्ये १५ प्रतिशत बजेट मात्र खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । 

अन्य मन्त्रालयझैं पर्यटन मन्त्रालयको पनि विकास खर्चको प्रवृत्ति निराशाजनक रहेको छ । मन्त्रालयको तथ्याक अनुसार पहिलो ४ महीनामा पूँजीगत खर्च ७ दशमलव २३ प्रतिशत मात्र भएको छ भने चालू खर्च ३६ दशमलव ४७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस