aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिका-चीन सम्बन्धमा राजनीतिक युद्ध शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
अमेरिका-चीन सम्बन्धमा राजनीतिक युद्ध शुरू

एजेन्सी । बिश्व शक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध सँग सँगै राजनीतिक युद्द शुरू भएकाे छ । यी दुई ठूला अर्थतन्त्रको लडाइँले विश्व अर्थव्यवस्था नै प्रभावित भएको छ।

बुधबारदेखि अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव थपिएको छ। हङकङका प्रदर्शनकारीका पक्षमा अमेरिकी सदनले पारित गरेका दुई विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन्।

पहिलो विधेयकले हङकङमा मानव अधिकार उल्लंघन गर्नेलाई प्रतिबन्ध लगाउने र दोस्रो विधेयकले हङकङमा केही हातहतियार निर्यात गर्न प्रतिबन्ध लगाउनेछ।

‘मैले राष्ट्रपति सी चिनफिङ र हङकङका जनताका लागि यो हस्ताक्षर गरेको हो,’ ट्रम्पले भनेका छन्। ट्रम्पले हस्ताक्षर गर्नुअघि दुबै सदनले यी विधेयक सर्वसम्मतिले पारित गरेका थिए।

अमेरिकाको यो कदमप्रति चीनले गम्भीर आपत्ति जनाएको छ। कुत्सित मनसायले आएको यी विधेयकको नतिजा राम्रो नहुने चीनको चेतावनी छ।  

चिनियाँ विदेश मन्त्रालयले बिहीबार बेइजिङमा रहेका अमेरिकी राजदूत टेरी ब्रानस्टाडलाई बोलाएर विरोध जनाएको छ। राजदूतमार्फत् चीनले  महत्वपूर्ण क्षेत्रहरूको सहकार्य र द्वीपक्षीय सम्बन्धलाई खत्तम हुनबाट जोगाउन उक्त विधेयक कार्यान्वयन नगर्न  भनेको छ।

विश्लेषकहरूले भने अमेरिकी यो कदमको चीनले उग्र भएर प्रतिरोध गर्न नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस