काठमाडौं । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको अर्धजलाशय (पिकिङ रन अफ रिभर—पीआरओआर) मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि बिहीबार सम्झौता भएको छ। कुल अनुमानित लागत ९ अर्ब २६ करोड रुपैयाँ रहेको यस आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैयाँ) लगानी हुनेछ।
आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ। यसैगरी आयोजनामा बिजनेस अक्सिजनको समेत स्वपुँजी लगानी हुनेछ। सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको ३ वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पुर्याएको हो।
सम्झौताअनुसार हिमालयन बैंकले लिड बैंकका रूपमा १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले सहलिड बैंकका रूपमा १ अर्ब ५० करोड र सहभागी बैंकको रूपमा कुमारी बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब करोड, एनसीसी बैंकले १ अर्ब र सानिमा बैंकले ६९ करोड ५ लाख लगानी गर्नेछन।
सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैंकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबीआई बैंकका विनोद ढुंगेल, एनसीसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
आयोजनाको प्रवद्र्धक कम्पनी मेवा डेभलपर्स ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स नेपालमा दिगो जलविद्युत् विकास गर्ने उद्देश्यले प्रतिष्ठित व्यावसायिक घरना सीई ग्रुप, ऊर्जाविद् भानु पोखरेल र ऊर्जा तथा जलनीतिविज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस