
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छान्ने प्रक्रिया सुरु भएको छ । गत शुक्रबार १५ दिनको म्याद दिएर अध्यक्षका लागि दरखास्त आव्हान गरिएको छ । अर्को आइतबारसम्म योग्य उम्मेदवारले समितिको सचिवालय अर्थ मन्त्रालयमा दरखास्त दिनु पर्ने छ ।
अध्यक्ष छनोटका लागि राष्टिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वामा राजश्व सचिव शिशिर ढुंगाना र चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद शर्मा रहेको एक समिति गठन गरिएको छ । उक्त समितिले उपयुक्त व्यक्तिलाई छनोट गरी अर्थमन्त्रीलाई सिफारिस गर्ने भएको छ । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र मन्त्रिपरिषदले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यही अनुसार केही दिन भित्र अध्यक्ष चयन हुने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।
सेबोनका निवर्तमान अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि रिक्त रहेको पदमा नयाँ अध्यक्ष छनोट गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रका कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनु पर्ने छ । त्यस्तै उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । अध्यक्षमा काम गर्न इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।
कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्डलगायत सार्वजनिक निकायको कुनै ठेक्कापट्टामा सम्झौता गरी वा नगरी काम गरिरहेको, धितोपत्र वा वस्तु विनिमय बजारमा आफू वा आफ्नो परिवारको सदस्य संलग्न नभएको वा बजारसँग निजको स्वार्थ नरहेको पुष्टि गर्नुपर्नेछ । उम्मेदवारको योग्यता र कार्ययोजनाका आधारमा सम्भव भएसम्म पाँचजनालाई योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिनेछ ।
अहिले अध्यक्षमा दक्ष कि टिके व्यक्ति आउने हो भन्ने बारेमा लगानीकर्ताबीच चर्चा शुुरु भएको छ । शेयर लगानीकर्ताहरुले पूँजी बजार सक्रमण अवस्थामा रहेको भन्दै सक्षम र दक्ष व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्न दबाब दिएका छन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा बोर्डको नेतृत्व सुम्पिदा समस्या समाधान नहुने भएपछि सक्षम र दक्ष व्यक्ति नियुक्ति गर्नु पर्नेमा जोड दिएका हुन् ।
शेयर लगानीकर्ताले धतोपत्र बोर्डको अध्यक्ष पूँजीबजारका लगानीकर्ताहरुमा चासो र सरोकार रहेको विषय बनेको भन्दै हाल संक्रमण अवस्थामा रहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने खालको व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्नेमा जोड दिँदै आएका छन् । लगानीकर्ताले सक्षम र दक्ष नेतृत्व नियुक्त हुनुपर्नेमा जोड दिँदै आएका छन् । यता, अर्थमन्त्रालयलाई पनि टिके भन्दा दक्ष व्यक्ति अध्यक्षमा ल्याउन दवाव परिरहेको छ ।
समितिले पनि बोर्डको अध्यक्षका लागि दक्ष व्यक्तिको खोजी गर्न थालेको छ । पुँजी बजारकै बिषयमा विद्यावारिधी गरेका बोर्डकै निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारीले अध्यक्षका लागि दक्ष व्यक्ति हुन सक्ने आकालन गर्न थालिएको छ । कार्य क्षमताका हिसावले उत्कृष्ट प्रर्दशन गर्दै आएका अधिकारी बोर्ड हाक्न सक्ने क्षमता राख्ने व्यक्ति भएको त्यहाका कर्मचारी बताउँछन् । बोर्डका कायकारी निर्देशक परिष्ठनाथ पौडेल र निरज गिरी पनि अध्यक्ष बन्ने दौडमा लागेका छन् ।
बोर्डको अध्यक्ष हुने दौडमा राष्ट बैंकबाट अवकास भएका बढी आकाक्षी देखिए पनि उनीहरु गभर्नरका लागि उपयुक्त हुने भएकाले अधिकारी बोर्डको अध्यक्ष हुने प्रवल सम्भावना बढेको बोर्डका कर्मचारी बताउँछन् । राष्ट बैंकबाट रिटायर्ड भएर नेपाल बैंकको अध्यक्ष पदमा रहेका बासुदेव अधिकारी पनि बोर्डको अध्यक्षका लागि दौडमा लगेका छन् । पछिल्लो समय उनी गभर्नर पदमा बढी आकाक्षी देखिएका छन् । गभर्नर नभए मात्र बोर्डको अध्यक्ष बनाउनु पर्छ भन्दै हिडेका छन् ।
यसैगरी, नेपाल राष्ट बैंकको डेपुटी गभर्नरबाट अवकास पाएका महाप्रसाद अधिकारी पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छाडेर गभर्नरको दौडमा लागेका छन् । पहिला बोर्डको अध्यक्ष हुन इच्छुक देखिए पनि अहिले उनी गभर्नरको दौडमा लागेको बताइन्छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना पनि अध्यक्ष पद छाडेर गभर्नरको दौडमा लागेका छन् । त्यस्तै अर्थसचिव डा. राजन खनाल, पूर्व योजना आयोगका उपाध्य भइसकेका डा. मिनबहादुर श्रेष्ठ पनि गभर्नरको दौडमा रहेको बुझिएको छ ।
तर, आगामी चैतबाट गभर्नर चिरन्जीवी नेपालको कार्यकाल सकिने र त्यसपछिको गभर्नरको दौर्डमा राष्ट बैंकका पूर्व डेपुटी गभर्नर र कार्यकारी निर्देशक गभर्नर पदको दौर्डतर्फ लागेकोले पनि अधिकारीलाई नै बनाउनु पर्नेमा अर्थमन्त्रालयले जोड दिएको बुझिएको छ ।
नेपाल स्टक एक्चेन्जका पूर्व अध्यक्ष टंक पनेरु अध्यक्ष बन्ने लाइनमा रहेका बताइछ । राजनीतिक पहुँचका आधारमा उनीहरु अगाडि देखिए पनि पूँजी बजारमा भने उनी त्यति विज्ञ छैनन् । लगानीकर्ताले विज्ञ हुनु पर्छ भनेर जोड दिएपछि उनी पनि योग्य सूचीबाट बाहिरीने सम्भावना बढेको छ । बोर्डको अध्यक्षका लागि नेताको आर्शिवाद थाप्ने दौडाहा शुरु भएपनि त्यसले कुनै अर्थ नराख्ने विज्ञहरु बताउँछन् । अहिले अध्यक्ष बन्न नेताको अर्शिवाद भन्दा पनि विज्ञ हुनु पर्नेमा जोड दिन थालेपछि विज्ञ अध्यक्ष बन्ने निश्चित भएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस