
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’
उनले प्रधानमन्त्री ओली जेलमा हुँदापनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे,‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होईन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । वितेका १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आईपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन् ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने,‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’
एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाईटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’
त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने,‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्योझैंगरि, यो त सामान्य कुरा हो । विरामीलाई रिस्क नहोस भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ ।’
त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने,‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ । उहाँ अहिलेपनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’
उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए । उनले भने,‘नेपालमा एउटा कानून छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ । के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ । नेपालको सञ्चार क्षेत्रले सायद त्यो कानूनलाई पढेको छैन् । त्यो संसदबाट पारित भएको छ । प्रमाािण्त भएको छ । कानूनको रुपमा क्रियाशिल छ । कार्यान्वयन भैसकेको छ । त्यसमा भनिएका कुराहरु प्रस्तावनादेखि दण्डसजायसम्मका कुराहरुलाई उत्तरदायी पत्रकारिताका निम्ति आमसञ्चार क्षेत्रले पढ्नु र हेक्का राख्न जरुरी छ । मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु ।’
थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे । उनले भने,‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ । संसारमा यो अभ्यास छ । हामीकहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ । यस्तो गर्न मिल्दैन् । स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाईदैन् ।’
उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे । उनले भने,‘डायलासिस गरिँदापनि आतंक, एपेन्डिसाईटिसको शल्यक्रिया हुँदापनि आतंक ।
नाम चलेका अखवारहरुको प्याकेज नै मानौं यो अन्तिम अवस्था हो जस्तोगरि प्रस्तुत गर्ने, यो कुन तरिका हो ? यो चाहीँ चित्तबुझ्दो भएन ।’ उनले नेपालका सञ्चारमाध्यम जति उत्तरदायी हुनुपर्ने हो त्यति नभएको गुनासो पोखे ।
उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले मिडिया एक्सेस दिएका छौं । केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं । मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन् । प्रवन्ध गरिएको छ । गोप्य बैठक भए भनेपनि मिडियालाई ब्रिफ गरिएको छ ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ती निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे । तर, उक्त विज्ञप्तीमार्फत समाचार नछापिएको उनको गुनासो छ ।
‘भोलिपल्ट अन्यथा ढंगले नियोजित साथ सम्प्रेषण गरिएको छ । डायलासिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो ।’–थापाले प्रश्न गरे । उनले अनावश्यक आतंक फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिए ।
उनले भने,‘अहिले त के भएको छ भने तपाई, हामी सबै पब्लिक अडिटमा छौं । तपाईले गरिरहेको कर्मपनि पब्लिट अडिटमा छ । मैले गरिरहेको कामपनि पब्लिक अडिटमा छ । सञ्चारक्षेत्र पनि जनताको निगरानीमा छन् । महालेखाले देशका आर्थिक गतिविधिहरुको परीक्षण गरेजस्तो जनताले हामी सबैको परीक्षण गरेका छन् नि । को ? कहाँ ? र कसरी उभिरहेको छ ? भन्ने कुराको परीक्षण चलिरहेको छ ।’
थापाले थप भनेका छन्,‘जस्तालाई त्यस्तै भनेझैं हुँदैन न् ि। विधि, कानून र प्रक्रिया छ । मैले त्यो कानून पढेर किन सम्झाईरहेको छु । तीन वर्ष कैद र तीस हजार वा तीन लाख जरिवाना छ । नेपालका प्रेसले बनेका कानूनको पनि हेक्का राख्नुपर्छ । जिम्मेवार पत्रकारिताले झनैं यसको हेक्का राख्नुपर्छ ।’ उनले कानूनी राजभन्दा ठूलो कोही पनि नभएको स्पष्ट पारे ।
उनले भने,‘सबैले यो कुराको हेक्का राख्नुपर्छ । अहिले देखापरेका कुरा हाम्रानिम्ति शिक्षा हुन् । सहज सुचना सम्प्रेषणका लागि हामी तयार छौं । अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे आएका कुरा म्यानरलेस कुरा हो । कहिले के भन्ने ? हरेक काम, पेशाका मर्यादा र सिमा छन् । हामी सबै मर्यादा र सिमामा बस्नुपर्छ ।’
प्रधानमन्त्रीको स्वास्थ्य र संक्रमणको खतरालाई अलिक बढि केन्द्रित गरेर आफूहरुले भेटघाटलाई कम गरेको उनले सुनाए । उनले भने,‘मेडिकल टिम, परिवारका सदस्य, सचिवालयका पनि छानिएका व्यक्तिबाहेक उहाँलाई हिजो सम्माननीय राष्ट्रपतिज्यूले भेट्नुभयो । उहाँले प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभको कामना गर्नुभयो । थप सुधारको लागि हरसम्भव कोशिष गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । राष्टप्रमुखबाहेक अरुले उहाँलाई भेट्न पाउनुभएको छैन । संक्रमणको समस्या नहोस भनेर हामीले यस्तो प्रवन्ध गरेका हौं ।’
प्रधानमन्त्रीले समिक्षा बैठक र कान्तिपुर टिभीबाट प्रशारित फायरसाईडमा लिम्पियाधुरा नेपालको हो भनेर विगतमा कसैले पनि पाठ्यपुस्तकमा नपढाईएको कुरा गरेको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीज्यूले त आजसम्मका नक्शाहरुमा हाम्रो हो यो भनिएन । त्यो पढाइएन भन्नुभएको हो ।’ कालापानी, लिपुलेकको सीमा विवादको समस्या प्रेमसिंह धामी सांसद बनेर आएपछि चर्चामा आएको उनले सुनाए ।
केपी ओलीको नेतृत्वमा बनेको महाकाली सन्धि अध्ययन कार्यदल बनेपछि पहिलोपटक कालापानी समस्या उजागर भएको उनको दाबी थियो । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामी कसैको एक ईन्च पनि भूमी लिँदैनौं, र हाम्रो एक ईन्चपनि दिँदैनौं भन्नुभएको छ । अरुले अतिक्रमण गरेको छ भने त्यो भूमी फिर्ता गरिछाड्छौं भन्नुभएको छ ।’
प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहीन र गलत भएको थापाले टिप्पणी गरे । उनले भने,‘यो उहाँको चुनावी सनक हो । सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो । त्यो बेला उहाँ बोल्नुभएन । के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं । प्रधानमन्त्रीले सर्वपक्षीय÷सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ । त्यो केवल कागजको खोस्टो हो । यसको खण्डन, मण्डन गर्न जरुरी छैन् । यसको पूर्णतः खारेज गर्नुपर्छ ।’
उनले सीमा विवादबारे भारतसँग नेपाल सरकारले मन्त्रालय तहमा, सचिवस्तरीय र प्रधानमन्त्रीको तहमा पनि छलफल गर्ने तयारी गरेको जनाए । उनले भने,‘नेपालले आफ्नो तर्फबाट कुटनीतिक नोट पनि पठाईसकेको छ । हाम्रो राजदुतले उक्त नोट भारत सरकारलाइ बुझाईसक्नुभएको छ । अब देउवाजी अपडेट हुन आवश्यक छ ।
थापाले पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्री ओलीले अपेक्षा गरेअनुसार नतिजा नआएको भन्दै यसलाई स्पिड–अप गर्न निर्देशन दिएको स्पष्ट पारे । आफूले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको कामको थालनी गरेपछि महत्वपूर्ण दुई बैठकमा भाग लिएको सुनाउँदै उनले भने,‘मन्त्रिपरिषदको हेरफेरपछि नवनियुक्त मन्त्रीहरु र बहालवाला सचिवहरुसहितको मंसिर ५ गतेको बैठकमा प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्देशन दिनुभएको छ । दोस्रो बैठक मंसिर ९ गते पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्रीको कुरा सुन्दा उहाँले स्वयम भन्नुभएको छ, पहिलो चौमासिक कार्यसमिक्षा अपेक्षा गरेरअनुसार छैन भन्नुभएको छ । गति दिनुपर्यो भन्नुभएको छ । लक्ष्यअनुसारको परीणाम निकाल्नुपर्यो भन्नुभएको छ ।’
दोस्रो चौमासिक समिक्षा बैठकमा कार्यप्रगति राम्रो हुनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले सुनाए । उनले भने,‘दोस्रो चौमासिक फागुनमा बस्छ । त्यो बैठकमा मूल्यांकन गर्दा पुँजीगत खर्च खर्च गर्ने गतिमा अहिलेको गतिले पुग्दैन् भन्ने कुरा उहाँले जोड दिनुभएको छ ।
मन्त्रीहरुको कार्यप्रगतिको परीणामको मूल्यांकन आफू सल्लाहकारहरुले नगर्नेपनि उनले स्पष्ट पारे । उनले भने,‘उहाँहरुको कार्य समिक्षा, प्रगतिको मूल्यांकन चाहीँ विभिन्न रुपमा हुने कुरा हो । काममा र मन्त्रालयमा हुने कुरा हो ।’ मन्त्रीहरुको बारेमा यो सफल र त्यो असफल भनेर आफूहरुले नभन्ने पनि उनले स्पष्ट पारे ।
‘हाम्रो काम भनेको प्रधानमन्त्रीज्यूलाई आफ्नो सल्लाह र सुझाव दिने हो’–उनले थपे,‘मन्त्रीहरुले आफ्नो फूल क्यापासिटीअनुसार काम गर्नुहुन्छ । त्यसकानिम्ति प्रधानमन्त्रीको निर्देशन मार्गनिर्देशक हुनसक्छन् ।’
उनले विद्यार्थीसँग बढि शूल्क असुल्नेगरि मेडिकल कलेजहरुबाट भएका प्रयास र अभिभावकलाई दोहन गर्ने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे । थापाले भने,‘विद्यार्थीहरुलाइर्ए शोषण गर्ने कुरा सरकारलाई मान्य छैन् । प्रधानमन्त्रीले सार्वजनिक रुपमै हामी कुनैपनि हिसाबले पछि पर्दैनौं भनेपछि अहिले दुई बुँदे सहमति भएको छ । सरकार पछाडि हट्दैन् । अनुचित शूल्क लिने कुरा सरकारले सह्य गर्दैन् । मेडिकल कलेजहरु पछाडि हटेका छन् । यसैगरि जनताको पक्षमा काम गर्दै सरकार अघि बढ्छ ।’
प्रतिक्रिया दिनुहोस