aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मेडिकल कलेज : शुल्क फिर्ता गर्न अझै आनाकानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ मंसिर २०७६
मेडिकल कलेज : शुल्क फिर्ता गर्न अझै आनाकानी

काठमाडौं। चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेजले फिर्ता गरेको छैन । बुधबार नै शुल्क फिर्ता गर्ने भनिएको थियो ।

मन्त्रालय र मेडिकल सञ्चालकहरूबीच भएको दुई बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । विद्यार्थीका लागि दुई बुँदे सहमति ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ ।

चितवन मेडिकल कलेजका छात्र नसिम अख्तरले सहमतिका नाममा विद्यार्थीलाई झुक्याउने र आन्दोलन भाँड्ने काम भएको गुनासो गरे । ‘‘खै त, बढी लिएको शुल्क फिर्ता गरेको,’’ उनले आक्रोश पोख्दै भने, ‘‘यो सब नाटक हो ।’’

मेडिकल कलेज सञ्चालकहरूले भने रकम फिर्ता नभई समायोजन गर्ने कुरामा सहमति भएको दाबी गर्दै आएका छन् । चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेले एमबीबीएस र बीडीएस प्रथम र द्वितीय ब्याचको शुल्क समायोजन गर्ने कार्य भइरहेको बताए ।

‘‘बढी लिएको शुल्क फिर्ता दिने विषयमा सहमति भएको होइन र’’ भन्दा उनले फिर्ता नभई बुधबारबाट नै समायोजनको प्रक्रिया सुरु भइसकेको बताए ।

त्यस्तै, तेस्रो र चौथो ब्याचबाट उठाइएको बढी शुल्क चिकित्सा शिक्षा आयोगको समन्वय र छलफलपछि अर्को वर्ष (एक वर्षपछि) तिर्ने सहमति भएको भनाइ मेडिकल सञ्चालकहरूको छ ।

चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीबाट ४० लाख २३ हजार, बाहिर ४४ लाख ३५ हजार र बीडीएस अध्ययनरत विद्यार्थीका लागि उपत्यकाभित्र २० लाख १९ हजार र बाहिर लाख १९ हजार रुपियाँ शुल्क निर्धारण गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस