aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

घट्दैछ व्यापार घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ मंसिर २०७६
घट्दैछ व्यापार घाटा

काठमाडौ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा ठूलो समस्या हो व्यापार घाटा । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटाको ग्राफ नियमित उकालो लाग्नु अन्तर्राष्ट्रिय व्यापारको नियमित प्रवृत्ति जस्तै हो । दशकौँको यो प्रवृत्ति पछिल्लो समय भने बदलिएको छ । व्यापार घाटा त नेपालले बेहोर्नुपरेको छ नै, तर यसको नियमित प्रवृत्ति भने खुम्चिँदै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष चार महिनासम्मको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । कात्तिकसम्मको उक्त तथ्याङ्कअनुसार व्यापार घाटा ८.९० प्रतिशतले घटेको छ । अर्थात् अघिल्लो कात्तिकमा चार खर्ब ५४ अर्ब रुपियाँ व्यापार घाटा बेहोर्नु परेकोमा समीक्षा अवधिमा करिब ४० अर्ब रुपियाँले घटेर चार खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।

घट्दो आयात र बढ्दो निर्यातले व्यापार घाटाको यो प्रवृत्तिमा परिवर्तन गरेको देखिएको छ । त्यसो त चालू आर्थिक वर्षको पहिलो महिनादेखि अघिल्लो वर्षभन्दा निर्यात बढेको र आयात घटिरहेको तथ्याङ्कले देखाउँछ । व्यापार घाटा पनि साउनदेखि नै घटेको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार अघिल्लो कात्तिकसम्म चार खर्ब ८३ अर्ब रुपियाँको आयात भएकोमा अहिले ६.९२ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब घटेको छ । अर्थात् तुलनात्मक रूपमा आयात ३३ अर्बले घटेको देखिन्छ । निर्यातको वृद्धिदर भने उत्साहजनक देखिन्छ । २९ अर्ब २८ करोड रुपियाँको अघिल्लो वर्षको निर्यात २३.९० प्रतिशतले बढेर ३६ अर्ब २७ करोड रुपियाँ पुगेको छ ।

निर्यातको वृद्धिदरले समग्र व्यापारमा यसको हिस्सा बढेर ७.५ प्रतिशत पुगेको छ । अघिल्लो कात्तिकमा कुल व्यापारमा ९४.३ प्रतिशत आयातको हिस्सा रहेकोमा अहिले घटेर ९२.५ प्रतिशत पुगेको छ । चार महिनासम्म नेपालको कुल अन्तर्राष्ट्रिय आयात चार खर्ब ८६ अर्ब रुपियाँ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस