aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रेलको नक्सांकन गरी फर्कियो चिनियाँ टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ मंसिर २०७६
रेलको नक्सांकन गरी फर्कियो चिनियाँ टोली

काठमाडौँ । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्सांकन प्रस्ताव गरेको छ । मुख्यतः केरुङ–काठमाडौं रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्सांकन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो ।

चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मङ्सिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए । स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता रहेको थियो ।  

त्यसैगरी, कुरिनटारबाट भरतपुर–भैरहवा हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि नयाँ ‘एलाइनमेन्ट’ प्रस्ताव गरिएको उहाँले बताए । उनले भने, ‘रेलमार्ग काठमाडौँबाट कुरिनटार भएर पोखरा जान्छ र कुरिनटारबाट लुम्बिनीका लागि छुटिन्छ ।’ उनका अनुसार, प्रस्तावित यो रेलमार्गको ‘डिजाइन स्पिड’ प्रतिघण्टा दुई सय किलोमिटर हुनेछ । प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको गति प्रतिघण्टा दुई सय किलोमिटर नै रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस