
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो ।
प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार पहिलो त्रैमासमा अख्तियारी प्राप्त २७ अर्ब ७६ करोड २० लाख ३५ हजार बजेटको चार दशमलव ६० प्रतिशत अर्थात एक अर्ब २७ करोड ६१ लाख मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले जानकारी दिए ।
उनले भने,“विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरेपनि प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो ।”
त्यसमा चालु तर्फ १४ अर्ब ६९ करोड ४८ लाख रुपैयाँमध्ये ८१ करोड ५६ लाख रुपैयाँ मात्र खर्च हुदाँ पुँजीगततर्फको १३ अर्ब ६ करोड ७१ लाख रुपैयाँमा ४६ करोड ४ लाख ८० हजार मात्रै खर्च भएको पाण्डेले बताए ।
सबैभन्दा बढि ९ अर्ब ३९ करोड बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४८ करोड ६२ लाख अथवा ५ दशमलव १८ प्रतिशत प्रगती गरेको छ । यस्तै ४ अर्ब ७० करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ दशमलव ४१ अथात् ३० करोड, २ अर्ब ८० करोड बजेट रहेको कृषि मन्त्रालयले १४ करोड २२ लाख खर्च गर्दै ५ दशमलव ०७ प्रतिशत र सामाजिक मन्त्रालयको कुल ४ अर्ब ७० करोड मध्ये ३० करोड १४ लाख अथवा ६ दशमलव १ प्रतिशत गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी पाण्डेले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोराले पहिलो चौमासिकको प्रगती अपेक्षाकृत नै भएको दावी गरे । उनले अहिले योजनाको सर्भे गर्ने, सम्झौता गर्ने लगायतका काम जारी रहेको उल्लेख गरे । त्यसै कारण पनि पहिलो चौमासिकमा प्रगती केही कम देखिनु स्वभाविक भएको उनको भनाइ छ । अहिले भने योजना कार्यान्वयनलाई तिव्रता दिईएको उनले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले चाडपर्व, वर्षात लगायतका कारण अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको बताए । तर बजेट कार्यान्वयनको चरणमा रहेको दोस्रो चौमासिकमा उल्लेख्य प्रगती हुने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस