विराटनगर। विराटनगरका उद्योगी सुरेन्द्र गोल्छाको व्यवसाय खाद्यान्न र अटोमोबाइल्स हो तर उनि अहिले रिसोर्टमा लगानी गर्न थालेका छन् ।
धनकुटाको राजारानीमा रिसोर्ट सञ्चालनमा उनले लगानी थालेका छन् । विराटनगरलाई आधार क्षेत्र बनाएर उद्योगमा लगानी गर्दै आएका गोल्छा ८० किलोमिटर दूरीको राजारानी गाउँपालिकामा रिसोर्ट खोल्न पुगेका हुन् ।
रिसोर्ट खोल्न ६५ रोपनी जमिन खरिद गरेर संरचना निर्माण थालेका गोल्छाले आफू एक अर्ब लगानी गर्ने तयारीमा रहेको जानकारी दिए ।
औद्योगिक घरानाकै मोदी दुगडले विराटनगरमै पाँचतारेस्तरको सेन्चुरी होटल निर्माण गरिरहेका छन् । यसअघि होटल ह्यारिसन सञ्चालन गरिसकेका दुगडले पनि एक अर्बकै लगानीमा नयाँ होटल निर्माणको काम अन्तिम चरणमा पुर्याएका छन् ।
औद्योगिक घरानामा परिचित अनुहारले पर्यटन क्षेत्रलाई आधार बनाएर ठूला होटलमा लगानी गरेजस्तै होटल व्यवसायीमा लाग्नेको पनि लगानी थपिँदो छ । विराटनगरमा रत्ना होटल सञ्चालन गर्दै आउनुभएका रेवत थापाले धनकुटाको हिलेमा खोल्नुभएको होराइजन होटल पर्यटन वर्ष २०२० को लागि प्रतीक्षामा छ ।
होटल एसोसिएसन प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठका अनुसार पूर्वमा अहिले स्तरीय होटलको सङ्ख्या एक सय पुगिसकेको छ । उच्चस्तरकादेखि मध्यमस्तरका पर्यटकसम्मको सेवाका लागि खुलेका होटलमा दैनिक १० हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमता विस्तार भइसकेको छ ।
गैरसरकारी र अन्तर्राष्ट्रिय गैसरकारी संस्थाका कार्यक्रममा आधारित होटलको स्वरूप नयाँ रूपमा फेरिँदै गएकोले पर्यटन क्षेत्रमा झण्डै दस अर्बको लगानी भइसकेको श्रेष्ठको दाबी छ । तराई क्षेत्रका मुख्य सहरहरू विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडसँगै धनकुटा र इलाममा पछिल्ला तीन वर्ष मात्रै ५० ठूला होटल खुलिसकेका छन् ।
कोसी कोरिडोरको धनकुटा भेडेटार, हिले र वसन्तपुरमा जस्तै मेची कोरिडोरको इलाममा पछिल्ला दुई वर्षमा ठूला होटल खोल्ने होडबाजी चलेको बताइन्छ । इलाम घुम्न जाने पर्यटकको सङ्ख्या धेरै बढेका कारण क्षमता वृद्धि गर्नुपर्ने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन् ।
इलामको श्रीअन्तु, कन्याम, फिक्कल र सन्दकपुर क्षेत्रमा धेरै व्यवसायीको आँखा पर्दै गएकोले नयाँ लगानीका सम्भावित क्षेत्र मानिएका छन् । तराईको बाटो भएर प्रवेश गर्ने पर्यटकको बसाइँ पहाडी क्षेत्रका होटलमा लामो अवधि हुने गरेका कारण आकर्षण बढ्दै गएको अर्का व्यवसायी भवेश श्रेष्ठ बताउँछन् ।
पर्यावरणसँगै रमणीय गन्तव्य रहेका पहाडी जिल्लामा तराईकै व्यवसायीले लगानी सुरु गर्नु सुखद रहे पनि आवश्यक जनशक्ति उत्पादनमा ध्यान नदिएमा सेवा प्रभावकारी नहुने चिन्तासमेत उत्तिकै रहेको छ । होटलमा दक्ष जनशक्तिको अभाव देखिए संरचनाले मात्रै सेवा दिनसक्ने अवस्था रहँदैन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस