नेपालगञ्ज । नेपालगञ्जस्थित औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीसँग चन्दा र दान मागेर हैरान पारिएपछि उनीहरूले अब उप्रान्त कसैलाई पनि चन्दा र दान नदिने निर्णय गरेर सोही प्रकारको सूचना आ–आफ्ना उद्योगका गेटमा टाँसेका छन् ।
केही समययता विभिन्न राजनीतिक दल, सङ्घ, संस्था र केही भूमिगत सङ्गठनले समेत चन्दा र दान मागेर हैरान पार्न थालेकाले त्यस्तो निणर्य गरेर सूचना नै टाँस्नु परेको उद्योगीहरूले जनाएका छन् ।
चन्दाबाट हैरान भएपछि औद्योगिक क्षेत्रमा चन्दा र दान निषेध गरिएको त्यहाँका उद्योगी, व्यवसायीको सङ्गठन नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास सङ्घ, बाँकेले जनाएको छ । औद्योगिक क्षेत्रभित्रका हरेक उद्योगका गेटमा चन्दा र दान निषेध गरिएको सूचना टाँसिएको सङ्घका अध्यक्ष राजेश मास्केले बताए ।
विभिन्न समूहबाट चन्दा र दानका नाममा हैरान पारिएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगी, व्यवसायीको मागबमोजिम सङ्घले चन्दा र दान नदिने निर्णय गरेर सार्वजनिक रूपमै सूचना टाँसिएको उनले बताए । कुनै पनि व्यक्ति, संस्था वा निकायलाई चन्दा वा कुनै प्रकारको दान नदिने निर्णय भएकाले त्यस्तो चन्दा र आर्थिक सहयोग मागेर आफूलाई ‘सर्मिन्दा’ नपारिदिनु हुन अनुरोधसहितको सूचना औद्योगिक क्षेत्रभित्रका हरेक उद्योगको गेटमा टाँस गरिएको छ । औद्योगिक क्षेत्रमा मात्र नभई जिल्लाका अन्य विभिन्न स्थानमा रहेका उद्योगी र व्यवसायीसँग पनि चन्दा र दान मागेर हैरान पार्ने गरिएको गुनासो पटक–पटक आउने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
उनले औद्योगिक क्षेत्रका उद्योगीले गरेको निर्णय र टाँसिएको सूचना स्वागतयोग्य रहेको भन्दै सबैले त्यस्तै गर्नुपर्ने सुझाव दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस