aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कस्मिक क्रिस्प: एक वर्षसम्म नकुहिने नयाँ स्याउ

  • बीबीसी
    बीबीसी
  • सोमबार, १६ मंसिर २०७६
कस्मिक क्रिस्प: एक वर्षसम्म नकुहिने नयाँ स्याउ

 वाशिङ्टन  । दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ।कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो।

'दह्रो, कुरकुरे र रसिलो स्याउ' प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ। वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म सो स्याउ उत्पादन गर्न विशेष अनुमति दिइएको छ।

क्त स्याउको विकास कार्यक्रमको सह-नेतृत्वकर्ता केट इभान्सले भनिन्, "यो कुरकुरे स्याउ हो र यो अन्य प्रकारका स्याउभन्दा दह्रो पनि छ, यसमा गुलियो र अमिलो ठिक्क मिलेको छ र यो असाध्यै रसिलो छ।"

उनले सो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य अवस्थामा रहने बताइन्।

स्याउको मूल्य

अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन्। यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन्।

यो जातको स्याउलाई पहिले डब्ल्यूए ३८ भनिए पनि यसको गाढा रातो बोक्रामा ससाना सेता थोप्लाहरू भएका कारण यसलाई कस्मिक क्रिस्प नाम दिइएको हो।

वाशिङ्टन अमेरिकी बजारमा सबैभन्दा धेरै स्याउ पठाउने राज्य हो तर यसको सबैभन्दा प्रसिद्ध गोल्डेन डेलिसिअस र रेड डेलिसिअस जातलाई पिङ्क लेडी र रोयल गाला जातले कडा टक्कर दिने गरेका छन्।

अमेरिकामा केरापछि सबैभन्दा बढी बिक्री हुने फल स्याउ हो। उक्त प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको समाचारहरूमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस