
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले सूचना जारी गरी सो आग्रह गरेको छ । म्याराथन दौड शनिबार बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।
यस्तै महाशाखाले शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीकाअनुसार कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस