
काठमाडौं । कृषि कर्म धेरैको रोजाइमा पर्ने पेशा होइन । यो झन्झटिलो क्षेत्रलाई युवाहरुले त झन् उपेक्षा नै गर्दै आएका छन् । तर, काठमाडौं महानगरपालिकाको कीर्तिपूर चारघरेमा जन्मेका ७३ बर्षिय डा. केदार बुढाथोकी भने यसैमा रमेका छन् । अनि व्यावसायीक रुपमा सफल पनि छन् ।
उनि हाईब्रेड जातको गोलभेडा बिउ उत्पादन गर्ने किसान हुन् । विगत ४८ बर्षदेखि कृषि क्षेत्रमै योगदान गरेका बुढाथोकी अहिले पनि आफ्नो पेशागत रोजाई प्रति गर्व गर्दै आएका छन् । आफ्नो परिवार मात्र नभएर अरु धेरैलाई रोजगारीदिंदै बिउ उत्पादन गर्ने तरिका पनि सिकाएका उनी भन्छन, ‘बार्षिक लगभग करोडौं रुपैयाँ कमाउन सफल भएको छु । यस पेशाप्रति म सन्तुष्ट मात्र होइन, म यसैमा रमाएको छु ।’
बुढेशकालले छोपिसकेका उनको दिनचर्या भने बिहानको मिर्मिरेबाट नै शुरु हुन्छ । बिहान आफ्नो कालिमाटीमा रहेको एग्रोभेटमा देखिन्छन् भने दिउँसो ललितपूरको नख्खु कृषि फार्ममा रहने गरेका छन् । आफ्नो ज्ञान र अनुभव बाँड्न आफु संचारमाध्यमलाई माध्यम बनाएको उनि सुनाउंछन्, ‘कहिले टेलिभिजनमा कृषि सम्बन्धि जानकारी दिने गरेको छु भने कहिलेकाही संचारकर्मीसंग आफ्ना अनुभव सुनाउछु ।’
उनी बिहानदेखि साँझसम्म प्राय व्यस्त नै रहन्छन् । बुढाथोकी लगभग १४ बर्ष पहिलेसम्म कृषि वागवानी अनुसन्धानमा तरकारी विकास अधिकृत थिए । त्यस अवधिमा उनले विभिन्न क्षेत्रमा काम गर्ने मौका पाए । आफ्नो जागिरे जिवन काठमाडौं, सर्लाही, पोखराको लुम्ले र ललितपूरको खुमलटारमा बिताएका थिए, उनले ।
ति गएका क्षेत्रमा कतै जंगल फाँडेर नयाँ फार्म खोलेको सुनाउँछन् भने कतै पूरानैमा किसानलाई काम गर्न सिकाएको अनुभव सुनाउछन् । उनी भन्छन, ‘सर्लाहीमा ९ वर्ष बस्दा मैले विभिन्न तरकारीको क्रसिङ, ग्रेडिङ गर्न सिकाएँ । सर्लाहीको लालबन्दिमा आफ्नै एक बिशेष समूहले आजभन्दा ४७ बर्ष पहिले नै गोलभेडाको खेतीसंगै बिउ उत्पादन गर्न पनि सिकाएका थियौ ।’ उनि स्मरण गर्छन्, ‘त्यो भन्दा पहिले सर्लाहीको त्यो मरुभूमी जस्तो जमिनमा केही उत्पादन हुदैन थियो । तर हाम्रो समूहले गोलभेडाको फलाउन सफल भएको थियौं ।’
जागिरसंगै उनले कृषि बिषय मै स्नाकोत्तर, एम्फिल र पिएचडिसम्मको अध्ययनको पुरा गरे, ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा। ब्रिटिस काउन्सिलले नेपाल मात्र होइन विदेशमा हुने सेमिनारहरुमा समेत सहभागी गरायो । त्यो अवधिमा उनले धेरै नयाँ प्रविधि र ज्ञान हाँसिल गर्ने मौका पाए ।
उनले त्यहीबेला किसानले बिउ उत्पादन गरे पश्चात् बजारको अभाव देखेका थिए । उनी बिगतलाई सम्झदै भन्छन, ‘सर्लाहीको लालबन्दीमा उत्पादन गरेको गोलभेडा सोही क्षेत्रमा मात्र परिचित थियो । अहिले काठमाडौं, पोखरा, बुटवल, बागमति, रानीवन, निजगढ, कर्मया, नवलपूर लगायतका विभिन्न ठाउँमा गइरहेको सुन्छु ।’ उनी पुलकित हुन्छन, ‘मलाई आफुले गरेको सुरुवातीको कामको यस्तो राम्रो प्रगती सुन्दा मलाई एकदमै खुशी लाग्छ ।’
बिऊमा आकर्षण बढ्नुको कारण
पोखराको लुम्लेमा ब्रिटिस प्रोजेक्टमा सरुवा भएपछि उनले नेपालमा तरकारीको बिउको आवश्यकता महशुस गरे । उनले त्यहाँ विशेषगरी बिउ उत्पादनमा नै जोड दिए । गाउँ गाँउमा विभिन्न किसिमका तरकारीको बिउ उत्पादनका लागी प्रोत्साहन गरे । मुला, काउली, गोलभेडा, सिमी गरी गाउँगाउँमा छुट्टाछुट्टै किसिमको तरकारी लगाउने र त्यसलाई क्रसिङ गरेर बिउ उत्पादन गर्ने काम गरे । यसरी लुम्लेमा २० बर्षसम्म उनले बिउ उत्पादन मै बिताए ।
छात्रवृत्तिबाटै पिएचडीसम्मको अध्ययन
उनको एसएलसिसम्मको अध्ययन राजधानीमा नै भएको थियो । त्यस पश्चात यूएसएआईडीको छात्रवृत्तिमा भारतमा ५ बर्षे बिएस्सी एग्रिकल्चर अध्ययनको लागि त्यता लागे, वि.स.२०२३ सालमा। उनले २०२८ सालमा सो अध्ययन सके र जागिरे जिवन सुरु भयो । जागिरसंगै उनले कृषि बिषय मै स्नाकोत्तर, एम्फिल र पिएचडिसम्मको अध्ययनको पुरा गरे, ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा। ब्रिटिस काउन्सिलले नेपाल मात्र होइन विदेशमा हुने सेमिनारहरुमा समेत सहभागी गरायो । त्यो अवधिमा उनले धेरै नयाँ प्रविधि र ज्ञान हाँसिल गर्ने मौका पाए ।
टनेल भित्रको आम्दानीले लोभ्यायो
सरकारी सेवामा रहँदा विभिन्न देशमा घुम्ने मौका पाए, बुडाथोकीले । त्यहाँ प्लाष्टिकको टनेल भित्र गोलभेडा खेती गरेको देखे । उनि भन्छन, ‘टनेल भित्र गरेको खेतीले प्रशस्त आम्दानी गरेको देखेपछि मेरो मन त्यता तिर लोभिएको हो ।’ उनलाई आफुले जापान, बेलायत लगायत अन्य देशमा जादाँ देखेको प्रविधि आफ्नो देशमा पनि लागु गर्न मन लाग्यो । त्यसैले सरकारी सेवामा रहेकै बेला उनले सो कामको सुरुवात गरे । खुमलटार सरुवा भए पश्चात् सरकारी फार्मको सुरुवात गरे र सफल पनि भए । उनले त्यहीबेला ५ वटा गाँउमा टनेल पनि वितरण गरेको थिए ।
त्यो समय उनि यसरी सम्झन्छन, ‘तिनीहरुलाई टनेल भित्र गोलभेडा खेती सिकाउन म रातदिन नै खटिएको थिएँ । बेमौसमी गोलभेडा उत्पादनमा ति किसानहरु सफल पनि भए । तिनीहरुको आम्दानी पनि एकदमै राम्रो भएको थियो । अरु किसान पनि टनेल भित्रको गोलभेडामा लोभिएका थिए ।’ अहिले देशभरि टनेलभित्र गोलभेडा खेती गर्ने चलन शुरु भएको छ । उनी दंग पर्दै सुनाउँछन्, ‘आफुले सुरु गरेको कार्यक्रममा किसानले राम्रो फाइदा लिएको देख्दा धेरै खुशी लाग्छ ।’
गोलभेडाको बिउबाट मालामाल
उनले नेपालमा गोलभेडाको बिउको अभाव देखेका थिए । त्यसैले जागिरेको शिलशिलामा जहाँ जहाँ गए त्यहाँ बिउ उत्पादन गर्न सिकाए । पछि २०६३ सालमा सरकारी सेवाबाट ३५ बर्षमा अवकाश पाएपछि कृषि फार्म खोले । उनि २०६३ सालमै नख्खुमा उपेन्द्र महतोको २०० रोपनी बाँझो जमिनबाट कृषि फार्मको शुरु गरेको बताउछन् ।
उनले फार्म शुरु गरेको ठाउँमा अहिले मेडिसिटी अस्पताल बनेको छ । त्यसैले अहिले सानो क्षेत्रमा मात्र फार्म संचालनमा छ । तरपनी वार्षिक करौडौ आम्दानी गरिनै रहेका छन, उनी । उनको फार्मले पाँच जातका टमाटरको बिउ उत्पादन गर्दै आएको छ । उनको नख्खु सिड्स जातको हाइब्रेड गोलभेडाको बिउ अहिले बजारमा एकदमै चर्चित पनि छ ।
नेपाल भरि ८०० किलोग्राम गोलभेडाको बिउ आवश्यक हुने गरेको छ तर आफुले लगभग १५० किलोग्राम जतिमात्र बिउ उत्पादन गर्ने गरेको उनि बताउँछन् । आफ्नो आम्दानीबाट सन्तुष्ट उनि भन्छन्, ‘यसबाट अर्वौ कमाउन नसकिए पनि करौडौ त कमाएकै छु ।’ बुढाथोकी अहिले प्याज खेती तर्फ पनि लोभिएका छन् । ‘मैले बिउ छरिसकेको छु अबका बाँकी दिन प्याज खेतीलाई पनि प्राथमिकतामा नै राख्छु।’, उनि आफ्नो योजना सुनाउँछन् ।
सरकारी नीति मन परेको छैन
हामीसंग कृषिको लागि चाँहिने खेत, सिचाँइ र सक्दो प्रविधि पनि छ तर सरकारको फितलो नीतिका कारण किसानहरु यो पेशाप्रति आकर्षित नदेखिएको बुढाथोकीको भनाई छ । सरकारले ठोस नीतिका साथ कृषि कार्यक्रमलाई अगाडी बढाउने हो भने सहज हुने उनले विश्वास गरेका छन् । हाल बजारमा देखिएको प्याजको अभावबारे उनी बोल्छन, ‘यदि सरकारले कसिलो कार्यक्रम ल्याउने हो भने प्याजमा परनिर्भर हुनु पर्दैन । म कालिमाटी गएर प्याजको मुल्य सोध्दा तीनछक्क परें र फर्किएँ ।’ उनि भाबुक हुँदै भन्छन, ‘ मेरो राम्रो आम्दानी छ तरपनी मैले किन्न नसकेको प्याज सर्वसाधारणले कसरी किनेर खालान् ।’
सरकारले प्रत्येक वडामा राखेका जेटीएलाई जिम्मा तोकेर कार्यक्रम दियो भने तरकारीमा परनिर्भर हुनु नपर्ने समेत बताए । नेपाल सधै परनिर्भर छ भनेको सुन्दा एकदमै नरमाइलो लाग्छ । किसानको तरकारीलाई बजारीकरण गर्न सहयोग भएको भए सायद यो पेशाबाट मानिसहरुपछि हट्दैनथे । तरकारी भण्डारण गर्नको लागि सरकारले खासै पहल नगरेको उनको गुनासो छ ।
सरकारी अनुदानको आशै गरिन
सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको छ । तर, अनुदान गरिखाने किसानभन्दा पनि ढगिखाने किसानले लिने गरेको उनको भनाई रहेको छ । सरकारको अनुदान लगानी गर्न नसक्ने किसानले भन्दा ठुला र धनी व्यक्तिहरुले लिन्छन् । सरकारले कृषि क्षेत्रमा ६ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरेपनि बैंकहरुले आलटाल गरेर नदिने गरेको तथ्य उनि बारम्बार दोहोर्याउँछन् । ऋण नदिन अनेक बाहाना गर्ने बैंकहरुलाई सरकारले बोलाएर नीतिगत रुपमा अगाडी बढ्न दवाव दिनु पर्ने उनको विचार छ । सरकारले कागजमा मात्र ऐननियम र नीतिका कुरा नराखेर प्रत्यक्ष रुपमा लागु भए नभएको पनि हेर्नुपर्ने उनको धारणा छ ।
सेवा निवृतलाई सल्लाह
‘म के भन्न चाहन्छु भने अवकाश लिने साथीहरुले प्राविधिक रुपमा जुन ज्ञान छ, त्यो ज्ञानलाई पुस्ता हस्तान्तरण गर्दा आफु लगायत अरुलाई पनि फाइदा हुने देखिन्छ ।’ उनी अगाडी थप्छन, ‘अवकाश हुनु अगावै विशेषज्ञहरुलाई आफ्नो भोलीको योजना तय गरेर अगाडी बढ्न आग्रह गर्छु । आफ्नो सिपको सदुपयोग गरेर अरुलाई पनि कृषि क्षेत्र लगायतका प्राविधिक पक्षमा दक्ष बनाउन सहयोग गर्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस