aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण हेरक दिन वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको शेयर प्रतिदिन बढिरहेको छ । प्रतिकित्ता ८ सय रुपैयाँमा किनबेच हुँदै आएको उक्त कम्पनीको शेयर पाँच कार्यदिनमै ८६ रुपैयाँले बढेर प्रतिकित्ता करिब ९ सय रुपैयाँ पुगेको छ । 

गत साता कारोबारको हिसाबले पनि टप थ्रीमा यो इन्स्योरेन्स परेको छ । गत आइतबार नेपाल लाइफको १ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएर उच्च कारोबार हुने कम्पनीको तेस्रो स्थानमा पर्न गएको थियो। 

सोमबार भने १ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भइ दोस्रो स्थानमा उक्लियो । मंगलबार पनि १ करोड ३९ लाख तथा बुधबार २ करोड ८२ लाखसहित तेस्रो स्थानमा रहेको उक्त कम्पनी साताको अन्तिम दिन भने ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो स्थानमा उक्लियो ।

सातामै नेपाल लाइफको शेयर १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुन पुगेको छ । शेयर मूल्य पनि अत्याधिक बढेको छ । अघिल्लो बिहीबार प्रतिकित्ता ८ सय ४ रुपैयाँमा किनबेच भइरहेको उक्त कम्पनीको शेयर गत साताको अन्तिम कारोबारका दिन ८ सय ९० रुपैयाँ पुगेको छ । आखिर नेपाल लाइफको शेयर किन यसरी बढी रहेको छ ? अहिले आमलगानीकर्ता यही प्रश्नको उत्तर खोजी रहेका छन् । 

नेपाल लाइफले आर्थिक वर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरी कुल ४८.५० प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक त्योभन्दा बढी लाभांश दिने अपेक्षा गरेकाले लगानीकर्ता उक्त इन्स्योरेन्स कम्पनीको शेयर खरिदमा लालायित हुन पुगेको ब्रोकरको भनाइ छ । बजारमा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) ले ६० प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैले पनि ती कम्पनीको मूल्य उच्च छ ।

नेपाल लाइफ इन्स्योरेन्सको पछिल्लो वित्तीय विवरणले लगानीकर्ता उत्साहित हुँदै सो कम्पनीको शेयर खरीदमा चाप बढाएको ब्रोकर बताउँछन् । 

कम्पनीको पहिलो त्रैमासमा आएको वित्तीय विवरणमा नेपाल लाइफ चुक्ता पुँजी, नाफा, बीमा शुल्क संकलन, रिजर्भलगायतका शीर्षकमा अन्य बीमा कम्पनीको तुलनामा निकै अब्बल देखिएपछि राम्रो लाभांशको आशमा नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

लाइफ इन्स्योरेन्सको क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफले आकर्षक लाभांश दिने अनुमानका साथ लगानीकर्ता सो इन्स्योरेन्सको शेयर खरिदमा चाप बढाएका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷ ७६ को मुनाफाबाट लाभांश दिनेक्रम सकिँदा पनि इन्स्योरेन्स कम्पनीहरूले लाभांश दिएका छैनन् । यसै कारण लगानीकर्ता इन्स्योरेन्स कम्पनीको लाभांशलाई उत्सुकतापूर्वक हेर्दै शेयर खरिद गर्न थालेका छन् । पछिल्लो समय इन्स्योरेन्स कम्पनी समूह सूचक बढ्न थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस