
काठमाडौं, वैशाख २३ । कम्पनी ऐनअनुसार आर्थिक वर्ष शुरु भएको तीन महिनाभित्र लेखा परीक्षण गरी छ महिनाभित्र साधारणसभा गर्नुपर्ने नियम भए पनि कतिपय कम्पनीले बल्ल अर्थात आर्थिक वर्ष शुरु भएको १०औं महिनामा साधारणसभा गर्न लागेका छन् । वैशाख महिनामा साधारणसभा एक दर्जनभन्दा बढी कम्पनीले कार्यतालिका बनाएका छन् । जसमध्ये आधा कम्पनीले सम्पन्न गरिसकेका छन् भने आधाको बाँकी रहेको छ ।
साधारणसभा गर्न बाँकी रहेका कम्पनीहरुमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा वैशाख २५ गते हुँदै छ । यस कम्पनीले १० बराबर २ को अनुपातमा हकप्रद वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै छ । असार मसान्तभित्र १ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने बाध्यता रहेकाले लुम्बिनी जनरल इन्स्योरेन्सले १० बराबर २ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो । लुम्बिनीको हाल ८८ करोड चुक्तापूँजी रहेको छ ।
त्यस्तै वैशाख २६ गते नाडेप लघुवित्त कम्पनीको साधारणसभा हुँदै छ । यस कम्पनीले साधारणसभामा १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । सोही दिन आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि साधारणसभा हुँदैछ ।
सो कम्पनीले साधारणसभामा मर्जरको प्रस्ताव लिएर जाँदैछ भने वैशाख २६ गते नै कुमारी बैंकले पनि साधारणसभा गर्दै छ । यस बैंकले लगानीकर्तालाई २१.२५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्दैछ । पूँजी वृद्धि गर्नुपर्ने बाध्यता कुमारी बैंकलाई समेत रहेको छ । वाणिज्य बैंकहरुको ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने नीति अनुरुप कुमारीले पुँजी पुर्याउन २१ दशमलव २५ प्रतिशत बोनसको प्रस्ताव गरेको हो । बैंकको हाल ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
यसैगरी सिभिल बैंकको साधारणसभा वैशाख २७ गते हुने भएको छ । साधारणसभामा सो बैंकले १०.२५ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दै छ । सोही दिन नेशनल हाइड्रोले पनि साधारणसभा गर्ने कार्यक्रम तय गरेको भए पनि उक्त साधारणसभामा कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छैन । वैशाख ३० गते साधारणसभा हुने छिमेक लघुवित्त वित्तीय संस्थाले साधारणसभामा १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांशको प्रस्ताव लिएर जाँदैछ ।
प्रतिक्रिया दिनुहोस