aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेप्से बुलिस : ३६.८६ अंकले बढ्दा कारोबार रकम ४ अर्ब नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
नेप्से बुलिस : ३६.८६ अंकले बढ्दा कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज (मंगलबार) ३६.८६ अंकले बढेको छ । परिसूचक १९८५.४४ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ ।

आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए । चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य २६९.८० रुपैयाँले बढ्दै प्रतिकित्ता २९६८.४० रुपैयाँ पुगेको छ । धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल एण्ड आयल कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ ।

आज बजारमा सनराइज ब्लुचिप फण्ड, सीवाइसी लघुवित्त र छिमेक लघुवित्तका शेयरधनीले प्रतिकित्ता शेयरमा क्रमशः ५९, १३ र ३६ रुपैयाँ गुमाएका छन्‌ । सबैभन्दा बढी शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरलको सबैभन्दा धेरै ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भयो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि कारोबारको पहिलो दिन आइतबार १११ अंकले बढेको नेप्सेमा सोमबार भने २० अंकले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस