
काठमाडौं । अपी पावर कम्पनीले आठ मेगावाट क्षमताको माथिल्लो नौगड गाड आयोजना निर्माण पूरा गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ । यस आयोजनासँगै दार्चुला जिल्लामा कम्पनीले दोस्रो आयोजना सम्पन्न गरेको हो ।
आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । यो विद्युत् बिक्रीबाट कम्पनीले पहिलो वर्ष २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । अत्तरिया–बलाँच १३२ केभी ट्रान्समिसन लाइनमा जडान भई विद्युत् प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत् सहज ढंगले प्रवाह गर्न सकिएको छ ।
आयोजना निर्माणको लागि नेपाल एसबीआई बैंकको अगुवाइमा प्रभु बैंक, कैलाश विकास बैंक तथा युनाइटेड फाइनान्स कम्पनीले सहवित्तीयकरण अन्र्तगत १२० करोड कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत १६० करोड रहेको छ ।
यसअघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मेगावाट साना जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले अब सोही क्षेत्रमा नयाँ आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने भएको छ । वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सो आयोजना दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।
अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागि ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशत २२२ करोड शेयरधनीको लगानीबाट र बाँकी ५१८ करोड बैंक तथा वित्तीय संस्थाबाट सह वित्तियकरण मार्फत ऋण लगानी हुनेछ ।
२०७७ वैशाखदेखि निर्माण शुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस