aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रेमिट्यान्स घट्नुको कारण खोज्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
रेमिट्यान्स घट्नुको कारण खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स घट्नुको कारण खोज्न थालेको छ । गत आर्थिक वर्षमाभन्दा चालू आर्थिक वर्षमा रेमिट्यान्स घटेपछि यसको कारण राष्ट्र बैंकले खोज्न थालेको हो । मुलुकको मुख्य आम्दानी मानिएको रेमिटयान्सको रकम गत आर्थिक वर्षमाभन्दा खुम्चिदै गएपछि यसको कारण केन्द्रीय बैंकले खोज्न थालेको हो ।

रेमिटयान्स रकम गत आर्थिक वर्षको साउन, भदौ र असोजमा भन्दा यस वर्षको त्यही तीन महिनामा ३७.३ प्रतिशतले कमी आएको छ । यस वर्षको तीन महिनामा २ खर्ब ३० अर्ब २४ करोडमा मात्र रेमिटयान्स आएको छ । मुलुकको मुख्य आम्दनीको यस्तो रकम घट्दै जानु शुभ संकेतका रुपमा लिन नसकिने भन्दै केन्द्रीय बैंंकले कारण खोजी गर्न थालेको हो ।

हुन्डी, डलरमा आएको उत्तारचढाव, गत वर्षमा भन्दा डलरको विनिमय दरमा आएको कमीलगायतका कारणले रेमिट्यान्स घटन पुगेको अनुमान राष्ट्र बैंकले गरेको छ । तर, राष्ट्र बैंकले रेमिट्यान्स घट्नुको बास्तविक कारण भने एकिन भइनसकेको बताएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “वास्तविक कारण पत्ता लागि सकेको छैन ।”  

अनौपचारिक माध्यम हुण्डीबाट बढी रकम भित्र्एिकाले पनि औपचारिक माध्यम रेमिट्यान्सबाट रकम कम भित्रिएको विज्ञहरु बताउँछन् । हुन्डीको व्यापार बढेकोले रेमिट्यान्समा कमी आएको उनीहरुको तर्क छ । हुण्डीबाट कति रकम आउँछ भन्ने बारेमा भने राष्ट्र बैंकसँग बास्तविक तथ्याङ छैन् । 

हुण्डीबाट कति आउँछ भन्ने तथ्याङ नभएकाले यसको प्रभाव रेमिट्यान्समा परेको छ भन्ने सकिने आधार नभएको राष्ट्र बैंकका ती अधिकारीले बताए । हुण्डीसँगै डलर विनीमयदरमा आएको उतारचढावका कारण रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकको तर्क छ । गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा डलरको सटही दरमा आएको कमीका कारण पनि रेमिट्यान्स घटेकोे हुनसक्ने अनुमान गरिएको छ ।

डलर सटहीमा दैनिकजसो हुने उच्च उतारचढावले पनि रेमिट्यान्समा कमी आएको हुन सक्ने राष्ट्र बैंकको भनाई छ । डलरमा दिनहुँ जसो आएको उच्च उतारचढावले पनि रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकको भनाई  छ । “विदेशमा बस्नेले डलर अझै बढ्ला र पठाउला भन्ने मानसिकताले पनि रेमिट्यान्समा कमी आएको हो,” राष्ट्र बैंकका ती अधिकारीले बताए । 

जापानी यनको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारणले जापानमा बस्नेले रकम पठाउन कमी गरेको एक रेमिट्यान्स कम्पनीका सञ्चालकले बताए । उनले भने, “जापनमा गएकाले रेमिटेयान्स पठाउन पख र हेरको अबस्थामा छन ।” 

हुन्डी, डलरमा आएको उत्तारचढाव, विदेशबाट फर्किनेहरुले सुन र टेलिभिजन ल्याएर बजारमा बेच्ने प्रचलन बढ्दै गएकाले बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स आयातमा कमी आएको बैंकरहरु स्विकार गर्छन् । बैंंक तथा वित्तीय संस्थाले रेमिट्यान्स पठाउँदा कमिसन बढाएकाले पनि रेमिट्यान्स बैंकिङ प्रणालीबाट कमी आएको कतिपयको भनाइ छ ।

“विदेशमा बसेर फर्किनेले पैसा भन्दा सामान ल्याएर नेपाली बजारमा बेच्दा फाइदा हुन्छ” राष्ट्र बैंकका ती अधिकारीले भने, “त्यसैले रेमिट्यान्स कम्पनी तथा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्स घटेको हुनसक्छ ।” 

विदेशमा रोजगारीमा जाने क्रममा कमी आएको, हुन्डी मार्फत कारोबार बढेको, साउदीले कतारमा नाकाबन्दी लगाउँदा नेपाली कामदारको खानपानमा खर्च बढी भइ बचतमा असर परेकोले रेमिट्यान्समा कमी आएको र कुनै बेला ११९ रुपैयाँसम्म पुगेको डलरको ११२–११३ तिर मूल्य घटेका कारण पनि रमिटान्स रकम घटेको अनुमान गरिएको छ । तर, यसको  गम्भीर अध्ययन गर्नु पर्ने भएकाले केन्द्रीय बैंकले विश्लेषण र अध्ययन गर्न थालेको हो । यसको गहिरो अनुसन्धान र विश्लेषण गर्न जरुरी छ । 

नेपाल राष्ट बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि ३.७ प्रतिशतले घटेको छ । यसले पनि रेमिटयान्स घटन पुगेको विज्ञको भनाइ छ । 

गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको थियो  । त्यसमध्ये करिब २ खर्ब रुपैयाँ भारतबाट मात्र आएको थियो  । यो वर्ष छिमेकी मुलुक भारत जाने क्रममा पनि कमी आएको देखिन्छ । 

अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देश गएका नेपालीले त्यही घरजग्गा किन्ने र उत्तै रकम राख्न थालेकाले पनि रेमिटयान्स कमी आउन पुगेको विज्ञहरुको भनाइ छ । खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ  । तर, उता कमाएको पैसा उतै राख्न थालेपछि रेमिटयान्समा कमी आएको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस