
काठमाडौं । जलविद्युत कम्पनीले ५, ७ प्रतिशत लाभांश दिँदा पनि शेयर मूल्य भने १०० रुपैयाँभन्दा तल रहेको छ । रिडी हाइडोपावर कम्पनीले ५ प्रतिशत बोनस दिने घोषण गरेपनि उक्त कम्पनीको शेयर मूल्य ७० रुपैयाँको हाराहारीमा छ । त्यसैगरी, अरुण भ्याली हाइडोपावल डेभलपमेन्ट कम्पनीले ७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । तर, उक्त कमपनीको शेयर मूल्य ९५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
साथै, युनाइटेड मोदी हाइडोपावर कम्पनी लिमिटेडले कर सहित ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त कम्पनीको सेयर मूल्य १०५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । ७, ८ प्रतिशत लाभांश दिने जलविद्युत आयोजनाको हालत यस्तो छ भने झनै लाभांश नै नदिनेको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
लाभांश दिन नसक्ने अवस्थाकै कारण अहिले पनि २५ जलविद्युत कम्पनीले वार्षिक साधारणसभाको घोषणा गर्न सकेका छैनन् । नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत ३२ कम्पनीमध्ये केहीले मात्र साधारणसभा गर्दैछन् । बाँकी धेरै अहिलेसम्म बेखवर नै छन् । आर्थिक वर्षको ६ महिना भित्र अर्थात पुस मसान्त भित्र वार्षिक साधारणसभा गर्नु पर्ने हुन्छ । तर, धेरैजसो जलविद्युत कम्पनी भने पुसको चिसो जस्तै कठग्रिदै गएका छन् । वार्षिक साधारणसभा गर्न समेत आँट गरेका छैनन् । हाइडोपावरमा सर्वसाधारणले गरेको लगानीपनि बालुबामा पानी जस्तै बन्दै गएको छ ।
३२ वटा मध्ये ३,४ वटा जलविद्युत आयोजनाले भने लगानीकर्तालाई राम्रै प्रतिफल हात लगाउँदै छन् । अहिलेसम्म घोषणा गरेका मध्ये बुटबल पावर कम्पनीले सबैभन्दा बढी २८ प्रतिशत लाभांश दिँदै छ । उक्त कम्पनीले १८ प्रतिशत नगद र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बुटवल पावर कम्पनीको शेयर अहिले पनि साढे तीनसय रुपैयाँको हाराहारीमा किनबेच भएको छ ।
त्यसैगरी, चिलिमेले २५ प्रतिशत लाभांश दिएको छ । उक्त कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चिलिमेको शेयर मूल्य पनि ३ सय ५७ रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सानिमा माई हाइडोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिँदै छ । उक्त कम्पनीको पनि शेयर मूल्य दुई सयको नजिक छ ।
अन्य कम्पनीले भने लाभांश दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय गरिसकेका छैनन् । अहिले पनि नेप्सेमा सूचीकृत करिव दुई दर्जन कम्पनीको सेयर १०० रुपैयाँ भन्दा तल छ । त्यसमा पनि अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा तल छ । सर्वसाधारण नागरिकले हाइडोपावरमा मुरी रोपेर मानो त परैको कुरा भयो मुठी पनि फलाउन सक्ने अवस्था छैन् । आम नागरिकले १०० रुपैयाँमा किनेको शेयर वर्षौपछि त्यसको आधा मूल्यमा बिक्री गर्नु पर्ने अवस्था छ । त्यो पनि लगानीकर्तालाई आवश्यक परेको बेलामा तुरुन्तै बिक्री गर्न सकेका छैनन् ।
लगानीकर्ताले व्याजको त के कुरा साँवा पनि गुमाउन पुगेका छन् । बैंक, लघुवित्त, बिमा कम्पनीले बम्पर लाभांश वितरण गरिरहेका बेला हाइडोपावर कम्पनीमा लगानी गर्ने भने निराश हुन पुगेका छन् । लगानीकर्ता किन जलविद्युत्को सेयर खरिद गरिएछ भन्नेमा दुखी छन् । जलविद्युत्को सेयर खरिद गर्नुको साटो अन्य कम्पनीको सेयर खरिद गरेको भए लाभांश त पाइथ्यो । जलविद्युत् आयोजनाको शेयर खरिद गरेर लाभांशको कुरा त परै जाओस सावाँ पनि डुव्ने स्थिति बनेको छ ।
यस्तो हुनुमा नियमन निकायको अभाव भएको बिज्ञहरुको भनाइ छ । संस्थापक लगानीकर्ताहरु बेलुन झै मोटाउँदै जाने र सर्वसाधारण नागरिक पोलियो लागेको रोगी जस्तै हुनु पर्ने अवस्था छ । जलविद्युत् आयोजना निर्माण पूरा हुने बेलासम्म संस्थापक सेयरधनीहरुले आफ्नो लगानी उठाइसकेका हुन्छन् । संस्थापकले आयोजनामा लाग्ने सामान खरिदमा बजार मूल्यभन्दा दोब्बर तेब्बरबढीको बिल बनाउँछन् र फाइदा लिन्छन् । तर, सर्वसाधारण लगानीकर्ता भने ध्यू निकालेको महीमा पर्छन् । उनीहरु त्यही मोही ध्यू बन्छ कि भन्ने आशामा हुन्छन् । यस्तो चर्तुयाइपूर्ण खेलले गर्दा सर्वसाधारण नागरिकहरु जलविद्युत् आयोजनाको शेयर खरिद गर्न छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस