काठमाडौं । नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदुतावासका फस्र्ट सेक्रेटरी वाङ झियाओ लङले उक्त मोटरसाइकल हस्तान्तरण गरेको हो ।
सो अवसरमा चिनियाँ राजदूतावासका फस्र्ट सेक्रेटरी वाङ झियाओ लङबाट महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभि कक्षको अवलोकन भ्रमण समेत भएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद व्यक्त गरे । उपलब्ध भएका २३ वटा मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उहाँले जानकारी दिए ।
चिनियाँ राजदूतावासका प्रतिनिधि फस्र्ट सेक्रेटरी वाङ झियाओ लङले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चीनवीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको विचार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस