aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कियाको मिड–एसयुभी सेल्टोस नेपालामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
कियाको मिड–एसयुभी सेल्टोस नेपालामा

काठमाडौं । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री भएको मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल पनि सार्वजनिक भएको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । 

भारत–६ (Bhaarat-VI) इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको कम्पनीले दावी गरेको छ । 

कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरे बताए । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई (BOSE) म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ (D-Cut Steering), युभी ग्लास (UV Glass) जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् । 

गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना रहेको बताएको छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके (HTK),  एचटिके प्लस (HTK+),  एचटिएक्स (HTX),  एचटिएक्स प्लस (HTX+) भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस