काठमाडौं । दुई वर्ष अघि जीवन बीमा सञ्चालनका लागि बीमा समितिले स्वीकृत दिएका १० बीमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अन्तिम तयारीमा लागेका छन् । ती नयाँ जीवन बीमा कम्पनीहरुले न्युनतम पुँजी पुर्याउनका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेका हुन् ।
आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । नयाँ बीमा कम्पनीले गत वर्षको साधारणसभाबाट न्युनतम पुँजी पुर्याउन आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले सञ्चालनमा आएको दुई वर्ष पूरा भएकाले सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा रहेको बताए । उनले कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशननुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने जानकारी दिए ।
यसैगरी युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले सर्वसाधारणलाई छुट्याइएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ करोड ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारीमा रहेको बताए ।
सिटिजन्सले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियनले ६४ करोड, रिलायन्सले ६३ करोड, सन् नेपाल , आईएमई, सानिमा, महालक्ष्मी, रिलायवल र प्रभु लाइफले पनि ६०–६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका हुन् ।
सञ्चालनमा आएको दुई वर्षपछि मात्र आईपीओ निष्कासन गर्न पाइने धितोपत्र सम्बन्धित कानुनी व्यवस्था छ । १० वटा बीमा कम्पनी सञ्चालनमा आएको दुई वर्ष भइसकेकाले सर्वसाधारणलाई शेयर जारी गर्न लागेका हुन् ।
यीमध्ये धेरैले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । बोर्डले आवश्यक प्रक्रिया पूरा गरेर शेयर निष्कासन गर्न बाटो खोलिदिने तयारी रहेको छ ।
युनियन लाइफको अहिले चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख, रिलायबलको १ अर्ब ४० करोड, सिटिजन्स लाइफको १ अर्ब ७५ करोड, ज्योति लाइफको १ अर्ब ५४ करोड, रिलायन्स लाइफको १ अर्ब ४७ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४० करोड रुपैयाँ छ ।
त्यस्तै आइएमई लाइफको १ अर्ब ४० करोड, सानिमा लाइफ इन्स्योरेन्सको १ अर्ब ४० करोड, प्रभु लाइफको १ अर्ब ४० करोड र महालक्ष्मी लाइफको १ अर्ब ४० करोड रुपैयाँ छ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुले न्यूनतम दुई अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । उक्त चुक्ता पुँजी पुर्याउनका लागि छिट्टै सर्वसाधरणलाई शेयर जारी गर्न लागेका हुन् । लगानीकर्ता पनि उक्त १० नयाँ जीवन बीमा कम्पनीको शेयर खरिदका लागि उत्सुक देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस