
काठमाडौं । पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षको चयन गर्ने काम ढिलाइ भएको भन्दै लगानीकर्ताले छिटो नियुक्ती गर्न दवाव दिन थालेका छन् ।
आम लगानीकर्ताको भावनासँग जोडिएको अति नै संवेदनशील मानिने पुँजी बजार जस्तो संस्थामा अध्यक्ष चयनको प्रकृया कछुवाको गतिमा भइरहेको भन्दै उनीहरुले यस्तो दवाव दिन थालेका हुन् ।
धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भएको ७७ दिन भइसकेको छ । लामो समयमा अध्यक्ष नहुँदा त्यसको असर पूँजी बजारमा देखिएको भन्दै तुरन्त नियुक्ति गर्न दवाव दिन थालिएको हो ।
शेयर लगानीकर्ताले धितोपत्र बोर्डको अध्यक्ष पुँजी बजारका लगानीकर्ताहरुमा चासो र सरोकार रहेको विषय बनेको भन्दै हाल संक्रमण अवस्थामा रहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने खालको व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्नेमा जोड दिएका हुन् ।
अत्यान्त नाजुक अवस्थामा पुँजी बजार पुगेको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा ढिला नगर्न पनि उनीहरु आग्रह गरेका छन् । यसअघि पनि लगानीकर्ताको दबाब समूहले पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा रहँदा बजारमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको थियो ।
उक्त समूहले पूँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएका, आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाव समितिले प्रस्तुत गरेको ५८ बुँदाहरुमध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागहरुलाई कार्यान्वयन गर्नसक्ने सक्षम र दक्ष नेतृत्व नियुक्त हुनुपर्नेमा जोड दिएको थियो ।
यस अघिका बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद खाली छ । उनी असोज दोस्रो सातादेखि नै बिदा बसेकाले उक्त समयदेखि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नभएका कारण बोर्डकै वरिष्ठतम रहेका परिष्ठनाथ पौड्याललाई दैनिक कार्यसञ्चालनको जिम्मेवारी दिइएको छ ।
बोर्डको अध्यक्ष छनोटका लागि अर्थमन्त्रालयले समिति गठन गरिसकेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् । उक्त समितिले अध्यक्षका लागि उपयुक्त ३ व्यक्तिको छनोट गर्ने र उक्त व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र मन्त्रिपरिषदले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यही अनुसार समितिले तीन जनाको नाम सिफारिस गर्ने तयारीमा रहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।
उक्त समितिले बोर्डको अध्यक्षका लागि दक्ष व्यक्तिको खोजी कार्य जारी राखेको छ । बोर्डको अध्यक्षका लागि पुँजी बजारकै बिषयमा विद्यावारिधी गरेका बोर्डकै निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बोर्डका कायकारी निर्देशक निरज गिरी पनि अध्यक्ष बन्ने दौडमा छन् ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना पनि अध्यक्षको दौडमा छन् । राजनीतिक पहुँचका आधारमा उनीहरु अगाडि देखिए पनि पूँजी बजारमा भने उनी त्यति बिज्ञ छैनन् । लगानीकर्ताले बिज्ञ हुनु पर्छ भनेर जोड दिएपछि उनी पनि योग्य सूचीबाट बाहिरीने सम्भावना बढेको छ । धितोपत्र बोर्ड अध्यक्षको दौडमा नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक तथा विज्ञ सदस्य नील बहादुर सारु मगरर ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापति, राष्ट्रिय बीमा कम्पनीका पुर्व संचालक डा. केशव प्रसाद श्रेष्ठ र डा. बलराम पाठक छन् ।
बोर्डको अध्यक्षका लागि नेताको आर्शिवाद थाप्ने दौडाहा सुरु भएपनि त्यसले कुनै अर्थ नराख्ने बिज्ञहरु बताउँछन् । अहिले अध्यक्ष बन्न नेताको अर्शिवाद भन्दा पनि बिज्ञ हुनु पर्नेमा जोड दिन थालेपछि बिज्ञ अध्यक्ष बन्ने निश्चित भएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस