aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रदेश नं ३ दुग्ध विकास बोर्डको स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
प्रदेश नं ३ दुग्ध विकास बोर्डको स्थापना

हेटौडा । प्रदेश नं ३ मा दुग्ध विकास बोर्ड स्थापना भएको छ । एक समारोहका बीच मुख्यमन्त्री डोरमणि पौडेलले बोर्डको कार्यालय उद्घाटन गरे । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष तथा सदस्यहरुको चयन भने केही दिनपछि गरिने जनाइएको छ । निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थको प्रशोधन एवं बजारीकरणमार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्ड स्थापना गरिएको जनाइएको छ । 

प्रदेशस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन तथा दुग्ध क्षेत्रको विकास गर्न प्रदेश दुग्ध विकास बोर्डको आवश्यकता रहेको बोर्डका निर्देशक डा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल देशको दुग्ध पदार्थको कूल उत्पादनमा प्रदेश नं ३ को करिब २६ प्रतिशत योगदान रहेको छ । हालको बजारको मागअनुसार प्रदेशलाई करिब ४ प्रतिशत उत्पादन बढाउनुपर्ने देखिन्छ । निर्देशक श्रेष्ठका अनुसार आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलले थोरै मात्र पहल गर्ने हो भने दूध र दुग्ध पदार्थमा प्रदेश आत्मनिर्भर हुने बताए । आज बोर्डको कार्यालय उद्घाटन गर्नुहँुदै पौडेलले सरकार गठनलगत्तै सरकारले बोर्डको आवश्यकता महसुस गरेर १४ महिना अगाडि नै कार्यविधि बनाइएको बताएयो । 

उनले बोर्ड स्थापना गर्नुको वास्तविक मर्मलाई बुझेर काम गर्नुपर्नेमा जोड दिए । “हामी अलमल गर्ने वा परिणामविहीन काम गर्ने पक्षमा छैनौँ, यो बोर्डको औचित्यअनुसार काम नभएको पाए घिसीपिटी ढङ्गमा लगिरहने पक्षमा हामी छैनौँ”, उनले भने। उद्देश्यअनुसार नभए केका लागि काम गर्ने भन्ने प्रश्नको जवाफ खोज्न ढिलाइ गर्ननहुने उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा बोर्डका अध्यक्ष दावा दोर्जे लामाले बोर्डले तीव्रगतिमा काम गर्ने बताउनुभयो । हाल निर्देशक चयन गरिसकेको र केही दिनभित्र सबै समूह तयार पार्ने उनले बताए । बोर्डका कर्मचारीहरुले जागिर खानेभन्दा पनि कामगर्ने मानसिकताले अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले किसानहरुलाई उन्नत जातका गाई तथा भैँसीको कृत्रिम गर्भाधान गराउन आवश्यक बीजहरु सहज तरिकाले उपलब्ध गराउन प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस