aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारले  किन्न थाल्यो धान, ३० हजार मेट्रिक टन गोदाममा राख्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
सरकारले  किन्न थाल्यो धान, ३० हजार मेट्रिक टन गोदाममा राख्ने

काठमाडौं । नवगठित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सरकारले मंगलबारसम्म एक लाख २१ हजार २८ क्विन्टलभन्दा धेरै धान किसानसँग खरिद गरेको छ । चालु आर्थिक वर्षमा ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य सरकारको रहेको छ ।

सोहि योजना अन्तर्गत कात्तिक २८ गतेबाट थालिएको धान खरिद कार्य जारी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खरिद गर्ने धानमध्ये १६ हजार ५ सय मेट्रिक टन मोटा धान, ११ हजार ५ सय मेट्रिक टन मध्यम धान, १५ सय मेट्रिक टन जिरा मसिनो धान र ५ सय मेट्रिक टन बासमती सरकारले किन्ने छ ।

उक्त धान खरिद गर्न ७६ करोड रुपैयाँ विनियोजन गरेको कम्पनीका प्रवक्ता समेत रहेकी सुवेदीले जानकारी दिइन् । अघिल्लो वर्ष ३५ हजार मेट्रिक टन धान खरिद गर्न ९१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर,  २२ हजार ५ सय ९२ टनमात्रै खरिद भएको थियो । 

जसमा मोटा धान २८ सय मेट्रिक टन, मध्यम धान १९ हजार ७८७ मेट्रिक टन खरिद गरेको थियो भने जिरा मसिनो र बासमती धान खरिद नै गरेको थिएन । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो ।

सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका ८ कार्यालयबाट धान खरिद गर्न थालेको हो । धनगढी, राजापुर, नेपालगञ्ज, महेन्द्रनगर, बिर्तामोड, लाहान जनकपुर र वीरगञ्जबाट धान खरिद भइरहेको कम्पनीले जनाएको छ ।

मंगलबार बेलुकासम्म १ लाख २१ हजार २८ क्विन्टल धान खरिद भइसकेको छ, यो क्रम अझै जारी छ, सूचना अधिकारी सुवेदीले बताइन् ।

 सरकारले यस वर्ष मोटा धानको २५ सय ३२ रुपैयाँ ८० पैसा, मध्यम धानको २६ सय ७३ रुपैयाँ १० पैसा र जिरा मसिनो धानको ३ हजार २० रुपैयाँ प्रतिक्विन्टल सर्मथन मूल्य तोकेको छ । कृषकहरुसँग कम्पनीले किनेकोमध्ये वीरगन्ज बाट खरिद भएको ३२ क्विन्टल जिरा मसिनो धान पनि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

सरकारले तोकेको सर्मथन मूल्यभन्दा बढी रकम पाए कृषकले व्यवसायीलाई धान बिक्रि गर्न सक्नेछन् तर मूल्य नपाए कम्पनीले नै किसानको धान किन्ने छ ।
 

प्रतिक्रिया दिनुहोस