
काठमाडौं । सरकारले अघि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउन बिमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र तोकेको छ । कृषि बिमालाई देशव्यापी बनाई किसानलाई राहत दिने लक्ष्यका साथ सरकारले कृषि बिमा अवधारणा अघि सारेको हो ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बिमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा लागू गर्ने उल्लेख गरेको छ । सोही लक्ष्यअनुसार नै समितिले कम्पनीहरुले काम गर्नुपर्ने जिल्ला तथा क्षेत्र तोकेको हो ।
समितिका अनुसार नेपाल इन्सुरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कृषि बिमाको काम गर्नुपर्नेछ । यस्तै, राष्ट्रिय बिमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्सुरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाममा कृषि बिमा कार्यक्रम लागू गर्नुपर्नेछ ।
एभरेष्ट इन्सुरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्सुरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्सुरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्सुरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङजा, सिद्धार्थ इन्सुरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कृषि बिमा सम्बन्धी काम गर्नुपर्नेछ ।
यस्तै, प्रुडेन्सियल इन्सुरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्सुरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्सुरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्सुरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कृषि बिमा गर्नुपर्नेछ ।
समितिका अनुसार आइएमई जनरल इन्सुरेन्सले सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषामा, लुम्बिनी जनरल इन्सुरेन्स संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्सुरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिएन्टल इन्सुरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेसनल इन्सुरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा कृषि बिमा कार्यक्रम अघि सारेर कृषकलाई सहयोग पु¥याउनुपर्नेछ ।
यसैगरी, सानिमा जनरल इन्सुरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्सुरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्सुरेन्सले गुल्मी, पर्वत, पूर्वीरुकुम र रौतहटका कृषि बिमा गर्नुपर्नेछ । काठमाडौं र भक्तपुर जिल्लामा सबै बिमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ ।
समितिका अनुसार ७७ वटै जिल्लामा कार्यक्षेत्र तोकिएको र घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बिमा गर्नुपर्नेछ । कृषकलाई बिमासम्बन्धी जनचेतना जगाउने र बिमाका लागि अभिप्रेरित समेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस