aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बीमा कम्पनीबाट बम्पर लाभांशको अपेक्षामा धमाधम शेयर खरिद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
बीमा कम्पनीबाट बम्पर लाभांशको अपेक्षामा धमाधम शेयर खरिद

काठमाडौं । लगानीकर्ताले बीमा कम्पनीबाट बम्पर लाभांशको अपेक्षा गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरणको काम करिब करिब सकाउन लागेपछि लगानीकर्ताले बीमा कम्पनीबाट बम्पर लाभांशको अपेक्षा गरेका हुन् ।

लगनीकर्ताले उच्च लाभांश पाउने अपेक्षा गदै बीमा कम्पनीको शेयर खरिद गरिरहेका छन् । अहिलेसम्म चार निर्जीवन बिमा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । २२ बीमा कम्पनीहरु नेप्सेमा सूचीकृतमध्ये अझै पनि १८ बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् । बम्पर लाभांश घोषणा गर्न सक्ने सम्भावना भएकाले लगानीकर्ताको नजर ती कम्पनीमाथि गएको स्टक ब्रोकरहरु बताउँछन् ।

अहिलेसम्म नेको इन्स्योरेन्सले ८.४२ प्रतिशत नगद लाभांश, हिमालयन जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद (कर सहित) दिने घोषणा गरेका छन् । यसैगरी, आइएमइ जनरल इस्योरेन्सले ६ प्रतिशत वोनस र त्यसमा लाग्ने कर ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साथै, प्रभु इन्स्योरेन्सले ११.३२ प्रतिशत नगद र ५ प्रतिशत वोनस दिने घोषणा गरेको छ ।

जीवन बीमा कम्पनीले भने अहिलेसम्म कसैले पनि लाभांश वितरण गरेका छैनन् । बम्पर लाभांशको आशाले नेपाल लाइफको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । एक महिनाअघि ८ सय रुपैयाँ नजिक रहेको नेपाल लाइफको शेयर मूल्य ९ सय ६० पुगेको छ । यसैगरी, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल)को शेयर मूल्य पनि आकासिएको छ । 

बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा, बुक क्लोज, वार्षिक साधारण सभाको चटारो भइरहँदा बिमा कम्पनीहरुको भने अहिलेसम्म कुनै चहलपहल देखिएको छैन । अधिकांश बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्दैछन्। तर बिमा कम्पनीका लगानीकर्ता भने अझै पनि लाभांश घोषणाकै पर्खाइमा रहेका छन् ।

नियम अनुसार, चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुससम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा गरिसक्नु पर्छ। तर, उक्त समय सकिन लाग्दा पनि बिमा कम्पनीले भने साधारणसभा गर्न सकिरहेका छैनन्। 

बीमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लगेकाले साधारणसभा ढिला भएको बताइरहेका छन् । एनएफआरएस अनुसार बिमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्न सकेका छैनन् । जसका कारण लाभांश प्रस्ताव र साधारणसभा बोलाउनमै ढिला भइरहेको नियमनकारी निकाय बिमा समितिको भनाइ छ। 
 
नेपालमा बीमांकीय मूल्यांकन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको र  छिमेकी मुलुक भारतमा लगेर यसको मूल्यांक गर्नुपर्ने बाध्यता बिमा कम्पनीहरुमा रहकाले साधारणसभा ढिला हुन गएको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उच्च लाभांशको आशामा लगानीकर्ताले बिमा कम्पनीको शेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीको शेयर बढेका कारण तीन दिनमा नै नेप्से ५१ अकंले उकालो लाग्न बल पुगेको छ । सेयर बजार निरन्तर उकालो लागेपछि लगानीकर्ताले हौसिएर छन् । लभांश वितरण गर्न बाँकी रहेका बिमा कम्पनीको शेयर खरिद गरिरहेका छन्।  

लगानीकर्ताले शेयर खरिद गरेकै कारण हिजो (मंगलबार) पनि निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ८६.५७ अंकले उकालो लाग्न पुगेको छ। नेप्से बढेर १२१६.९२ अंकमा पुगेको छ। धेरै लामो समयपछि कारोबार रकम पनि १ अर्ब १० करोड २७ लाख रुपैयाँ नाघेको छ। 

प्रतिक्रिया दिनुहोस