काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन लागेको हो ।
यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१०%) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५%) सेयर पाउनेछन् ।
संस्थापक सेयरधनीले ५१% सेयर आर्थिक वर्ष २०७४–०७५ सम्ममा शतप्रतिशत चुक्ता गरिसकेका छन् । बाँकी रहेको कुल ४९% सेयरमध्ये २ करोड ९४ लाख कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १९.५% (१ करोड १७ लाख कित्ता), संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५% (२१ लाख कित्ता) रहेको छ ।
यसैगरी, ऋणदाता संस्थाका कर्मचारीलाई १% (६ लाख कित्ता) गरी कुल २४% (१ करोड ४४ लाख कित्ता) बिक्री भइसकेको छ । अब बाँकी रहेको २५% सेयर स्थानीय र सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । यसमा स्थानीयलाई १०% र सर्वसाधारणलाई १५% हुनेछ ।
यसैबीच, कम्पनीले स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग अण्डरराइटिङ वा जमानी (कुनै कारणबश यो सेयर बिक्री नभएमा नागरिक लगानी कोषले व्यहोर्नुपर्ने) गरेको छ ।
भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो । उक्त सेयर जारी गर्नका लागि मङ्गलबार नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।
सम्झौता अनुसार सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी गर्नेछ ।
एक अर्ब ५० करोड बराबरको उक्त सेयर मूल्यको प्रत्याभूतिका लागि आयोजनाले कोषसँग सम्झौता गरेको हो ।
प्रतिक्रिया दिनुहोस