
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने हल्ला बाहिर आएपछि एकाएक मूल्य बढन पुगेको छ । यही हल्लाका कारण हिजो (बुधबार) प्रतिकित्ता १०८० सम्म पुग्यो । तर, पछि नेप्सेमा आएको गिरावटसँगै उक्त कम्पनीको शेयर मूल्यमा पनि थोरै ओरालो लाग्न पुग्यो ।
नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले नगद र लाभांश गरेर ४८ प्रतिशत लाभांश वितरण गर्दै छ भन्ने समाचार चुहिएपछि उक्त कम्पनीको शेयर मूल्य निरन्तर बढी रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकबीच पटक पटकको बैठकमा विगतका बर्षहरुमा भन्दा कम लाभांश वितरण नगर्ने बरु सकिन्छ भने एक दुई प्रतिशत मात्र भएपनि बढाएर वितरण गर्ने भन्नेमा सबै सञ्चालकबीच सहमति भएको स्रोतको दावी छ । त्यस्तो सूचना चुहिएपछि उक्त कम्पनीको शेयर मूल्य आकासिदै गएको छ ।
स्टयाण्डर्ड मेन्टेन्ट गर्न पनि गत वर्षभन्दा लाभांश वितरण कम नगर्ने नीति रहेको एक सञ्चालकले बताए । जीवन बिमा कम्पनीमा नम्बर वान भएकाले पनि आफ्नो अस्तित्व बचाइ राख्न पनि ५० प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्नु आवश्यक भएको ती सञ्चालकको भनाइ छ ।
पुँजी बजार मापक नेप्से ओरालो लागेपनि नेपाल लाइफको शेयर मूल्य भने निरन्तर उकालो लागिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीले भने ५४ दिनमा एक कित्ता शेयरमा २ सय ५० रुपैयाँसम्म नाफा गरेका छन् । हुन त नेप्से पनि ११६२.४३ अंकबाट १३१३.४२ अंकमा पुगेको छ । नेप्सेसँगै नेपाल लाइफको शेयर मूल्य पनि निरन्तर उकालो लाग्दै आएको छ ।
आजभन्दा करिव ४४ दिनअघि अर्थात मंसिर १५ गते नेपाल लाइफको शेयर प्रतिकित्ता ८ सय ३२ रुपैयाँमा किनबेच भएको थियो । हिजो बुधबार त्यही कम्पनीको शेयर प्रतिकित्ता १ हजार ८० रुपैयाँसम्ममा किनबेच भएको छ । दुई महिना नहुँदै उक्त कम्पनीको शेयर कित्तामै साढे दुई सय रुपैयाँ बढेको देखिन्छ । उच्च लाभांश दिँदै भन्ने हल्ला बजारमा आएपछि मूल्य एक्कासी बढेको स्टक ब्रोकरहरु बताउँछन् ।
हिजोको कारोबार रकममा पनि नेपाल लाइफ टप फाइभमा परेको छ । कुल १ अर्ब ५८ करोड १३ लाख ८१ हजार रुपैयाँको शेयर कारोबार भएकोमा नेपाल लाइफको मात्रै ५ करोड ८१ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
उक्त इन्स्योरेन्सको शेयर प्रतिदिन बढीरहेको छ । करिव दुई महिनादेखि यता कारोबारको हिसाबले पनि टप फाइभमा यो इन्स्योरेन्स पर्दै आएको छ । बजारमा हल्ला आएजति नै लाभांश दिने हो त अहिले आमलगानीकर्ता यही प्रश्नको उत्तर खोजी रहेका छन् ।
नेपाल लाईफले आर्थिक वर्ष २०७४ र ७५ मा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरि कूल ४८.५० प्रतिशत लाभांश वितरण गरेको थियो । यसपाली त्यो भन्दा बढी लाभांश दिने अपेक्षा गरेकाले लगानीकर्ता उक्त इन्स्योरेन्स कम्पनीको शेयर खरिद गर्न खोजिरहेको ब्रोकरको भनाइ छ । बजारमा नेपाल लाईफ इन्स्योरेन्स र लाइफ इन्स्यारेन्स कम्पनी ६० प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैले पनि ती दुई कम्पनीको मूल्य उच्च छ ।
नेपाल लाईफ इन्स्योरेन्सको पछिल्लो बित्तीय बिवरणले लगानीकर्ता उत्साहित हुँदै सो कम्पनीको शेयर खरीदमा चाप बढाएको ब्रोकर बताउँछन् । कम्पनीको पहिलो त्रैमासमा आएको वित्तीय विवरणमा नेपाल लाइफ चुक्ता पूँजी, नाफा, बीमा शुल्क संकलन, रिर्जभ लगायतका शीर्षकमा अन्य बीमा कम्पनीको तुलनामा निकै अब्बल देखिएपछि राम्रो लाभांशको आशमा नेपाल लाईफको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।
लाइफ इन्स्योरेन्सको क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफले आकर्षक लाभांश दिने अनुमानका साथ लगानीकर्ता सो इन्स्योरेन्सको सेयर खरीदमा चाप बढाएका हुन् । नेपाल लाइफको शेयर मात्र होइन धेरैजसो बीमा कम्पनीको शेयर उकालो लागेको छ । बैंक तथा वित्त कम्पनीले यस वर्षको लाभांश घोषणा गरिसकेको र बीमा कम्पनीले लाभांश घोषणा गर्न बाँकी भएकाले पनि बीमा कम्पनीको शेयर मूल्य बढेको ब्रोकरको भनाइ छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट लाभांश दिनेक्रम सकिँदा पनि इन्स्योरेन्स कम्पनीहरूले लाभांश दिएका छैनन् । यसै कारण लगानीकर्ताहरू इन्स्योरेन्स कम्पनीको लाभांशलाई उत्सुकतापूर्वक हेदै शेयर खरीद गर्न थालेका छन् । पछिल्लो समय इन्स्योरेन्स समूह सूचक बढ्न पुगेको हो ।
प्रतिक्रिया दिनुहोस