
काठमाडौं । अरूण काबेली पावरले यो दोस्रो त्रैमासमा गत वर्षको तुलनामा करिब १७ गुणा बढी नाफा गरेको छ । गत वर्ष रू. २५ लाख ५१ हजार नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड २८ लाख ७३ हजार नाफा गर्न सफल भएको हो । कम्पनीले २५ मेगावाट क्षमताको काबेली—१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।
व्यापारिक उत्पादन सुरु गरेको त्रैमास भएकाले पनि कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । यो त्रैमासमा कम्पनीको आम्दानी ३५ गुणा बढी भएको छ । गत वर्ष रू. ३२ लाख ३५ हजार कुल आम्दानी गरेको यस कम्पनीले यस वर्ष रू. ११ करोड ३५ लाख ४१ हजार कुल आम्दानी गर्न सफल भएको हो ।
यो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट मात्र रू. ११ करोड ३२ लाख ५३ हजार आम्दानी गरेको छ । नाफा बढेसँगै कम्पनीको जगेडा कोष रकम ऋणात्मबाट सुधारिएको छ । गत वर्ष यस अवधिसम्म रू. ३४ लाख ५३ हजार ऋणात्मक रहेको जगेडा कोषमा यस वर्ष रू. २ करोड ७३ लाख ६२ हजार कायम भएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ८२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस