aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
जीवन बीमा शिक्षा

जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बोनसबारे बुझ्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ माघ २०७६
जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बोनसबारे बुझ्नुहोस्

कस्तो जीवन बीमा कम्पनीमा आफुलाई बीमित गराउने ? यो प्रश्नको उत्तर खाज्ने क्रममा धेरैले सुन्ने गरेको कुरा हो, जसले धेरै बोनस दिन्छ त्यही कम्पनीमा।  सामान्य मानिसको मनमा फेरी अर्को प्रश्न उब्जन्छ - बोनस भनेको के हो ? त्यो कसरी गणना गरीन्छ ? अनि प्रिमियम तिर्न नसकेर बिचैमा छोड्नु पर्यो भने कति रकम कुन हिसाबले पाइन्छ ? 

यो जानकारीमुलक आलेखमा यी र यस्तै केहि बीमाका क्षेत्रमा अत्याधिक सोधिने केहि प्रश्नको सरल शब्दमा ब्याख्या गरिएको छ ।  

बोनस भनेको के हो ?

जीबन बीमा अवधि समाप्तिमा वा कुनै कारणबस बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कमा थप गरी दिइने रकमलाइ बोनस भनिन्छ ।

बोनस दर कसरी घोषणा गरिन्छ ?
 
जीवन बीमाका बीमितहरुले भुक्तानी गरेको सम्पृ्र्ण बीमाशुल्क र उक्त बीमाशुल्क प्राप्त गर्न लागेको खर्च कट्टा गरी जीवन बीमा कोषमा जम्मा गरीन्छ ।  यसरी  जीवन बीमा कोषमा भएको रकम बीमा समितिबाट स्वीकृत प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, जलस्रोत, सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा, डिवेञ्चर, ट्रेजरी बिल, बैंक तथा वित्तिय संस्थाको सामुहिक लगानी कोष, म्युचुअल फण्ड, पव्लिक लिमिटेड कम्पनिको साधारण शेयर, घरजग्गा व्यवसाय, तथा अन्य स्वीकृत प्राप्त क्षेत्रमा लगानी गरिन्छ । 

बोनस घोषणा गर्दा सर्वप्रथम यसरी जीवन बीमा कोषमा जम्मा भएको रकम र लगानीको प्रतिफलहरु समेतबाट कम्पनी बीमितहरुको मृत्युदावी, सर्मपण  तथा कम्पनीको आवश्यक खर्चहरु कट्टा गरिन्छ। खर्च गरेर बचेको रकम मध्येबाट चालु प्रतिफल तथा खर्च, भविष्यमा प्राप्त हुने प्रतिफल दावी तथा खर्चलाइ मध्यनजर गरी बीमाको विज्ञ (बीमाङ्की) द्धारा बीमाङ्किय मृ्ल्याङ्कन गरी बोनस दर निर्धारण गरिन्छ । यो प्रक्रियाबाट आन्तरिक रुपमा निर्धारण गरिएको दर बीमा क्षेत्रको नियमन गर्ने निकाय बीमा समीतीबाट स्वीकृती प्राप्त भए पश्चात मात्र घोषणा गरी लागु गर्ने गरीन्छ । 

यसरी घोषणा गरिएको बोनस जुन आर्थिक वर्षको हिसाबबाट गणना गरिएको हुन्छ सोहि वर्षको लागी लागु हुन्छ । तसर्थ प्रत्येक आ.व. को वोनस फरक फरक हुन सक्दछ । घोषणा नगरीएको आ.व.का लागी अघिल्लो घोषणा गरिएको बोनस दर लागु हुन्छ जसलाई अन्तरिम बोनस दर भनिन्छ ।

बोनस रकम कसरी गणना गरिन्छ ?

बोनस दर सामान्यतः प्रति वर्ष प्रति हजार बीमाङ्कमा उल्लेख गरिन्छ । जस्तै: रु.७२ प्रति वर्ष प्रति हजार बोनस दर भन्नाले रु.१० लाख बीमाङ्कमा रु.७२ हजार हुन्छ। यहाँ गणना गर्दा १० लाखलाई १ हजारले भाग गरिन्छ र ७२ ले गुणा गरिन्छ।  त्यसो गर्दा हुन् आउने हो, रु.७२ हजार। यसको अर्थ प्रत्येक वर्ष ७२ हजारका दरले थप रकम प्राप्त हुन्छ । 

यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ :
मानौ, कुनै व्यक्तिले रु.१० लाखको नाफामा सरिक हुने जीवन बीमा गरेको रहेछ। निजको बीमा अबधी २१ वर्ष रहेछ र बीमा कम्पनीले २१ वर्षसम्म एकनास बोनस दर रु.७२ प्रति वर्ष प्रति हजार घोषणा गरेको रहेछ भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।
  क) बीमाङ्क रकम                                                                                                           रु. १०,००,०००/-
  ख) बोनस रकम (रु.७२ हजार प्रति वर्षका दरले २१ वर्षको                                                     रु. १५,१२,०००/-
 कुल प्राप्त हुने रकम (क + ख)                                                                                           रु. २५,१२,०००/-

यदि माथिको उदाहरणमाः कथंकदाचित बीमितको बीमा चालु भएको ५ वर्षमा मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा इच्छाएको व्यक्ति नभएमा बीमितको नजिकको हकदारले निम्नानुसार रकम प्राप्त गर्दछ ।
   क) बीमाङ्क रकम                                                                                                            रु.१०,००,०००/-
   ख) बोनस रकम (रु ७२ हजार प्रति वर्षका ५ वर्षको                                                               रु.३,६०,०००/-
   कुल प्राप्त हुने रकम (क + ख)                                                                                           रु.१३,६०,०००/-

 

प्रतिक्रिया दिनुहोस