aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

  • रासस
    रासस
  • सोमबार, १२ फागुन २०७६
श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

काठमाडौं । कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन । 

यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । 

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरेका थिए । 

सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्व्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुुपर्नेमा जोड दिएका थिए । भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको कामना समेत गरेका सभामुखको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस