aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जलविद्युत आयोजना निर्माण

नेपाल बैंकको नेतृत्वमा दोलखामा २६ अर्बकोे जलविद्युत आयोजना बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
नेपाल बैंकको नेतृत्वमा दोलखामा २६ अर्बकोे जलविद्युत आयोजना बन्दै

काठमाडौं । नेपाल बैंकको नेतृत्वमा अन्य आधा दर्जन बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणमा १६० मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । दोलखा जिल्ला विगु गाउँपालिकास्थित लाप्चे खोलाबाट विद्युत उत्पादन गर्न बैंक तथा अन्य वित्तीय संस्थाले लगानी गर्न लागेका हुन् । 

करिब २६ अर्ब लागतमा निर्माण हुन लागेको उक्त जलविद्युत आयोजनमा लिडिङ बैंकको रुपमा मुलुककै जेठो बैंक नेपाल बैंक रहेको छ । सह–वित्तीयकरण गर्न जुटेका बैकहरू र जलविद्युत उत्पादन कम्पनी एमभी गु्रपबीच गत पुस १ गते सम्झौता भइसकेको छ । आयोजना निर्माणको कार्य यहि मार्चदेखि शुरु हुनेछ । उक्त जलविद्युत आयोजना २ वर्षमा सम्पन्न गर्ने योजना रहेको   प्रवक्ता प्रकाश अधिकारी जानकारी दिए ।

बैंकले उक्त परियोनजामा ५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले जानकारी दिए । उक्त आयोजना सम्पन्न गर्न लागि बैंक तथा वित्तीय संस्थाले साढे १९ अर्ब र वाँकी साढे ६ अर्ब प्रवद्र्धक एमभी दुगड ग्रुपले लगानी गर्ने भएको छ । 

परियोजनामा राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकको साढे ३ अर्ब, नेपाल एसबिआई बैंकको एक अर्ब र कर्मचारी सञ्चयकोषको २ अर्ब लगानी रहने छ । अझै दुई तीन वटा बैंक लगानी गर्न आउन बाँकी रहेको जनाइएको छ । 
एमभी ग्रुपले बैंक तथा बीमा, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस