aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बजारमा स्याउ छैनः टाढैबाट हेरौँ, चित्त बुझाऊँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ चैत्र २०७६
बजारमा स्याउ छैनः टाढैबाट हेरौँ, चित्त बुझाऊँ

काठमाडौं । गौशाला चोक नजिकै २१ वर्ष अघि देखि  फलफूल तथा तरकारी पसल सञ्चालन गर्दै आएका नारायण दाहाल बजारमा आफैले बेच्दै गरेको स्याउको मूल्य भन्न अप्ठ्यारो मान्छन् । उनी कोरोना भाइरसको प्रकोप चीनमा फैलनु भन्दा अगाडी अधिकतम २ सय रुपैयाँ प्रति केजीमा बिक्री गरिरहेको स्याउ अहिले ३ सय ५० भन्दा माथिमा बिक्री गरिरहेका छन् । 

अब त्यो मूल्यमा समेत स्याउ बेच्न नपाइने चिन्तामा उनी छन्। आफ्नो पसलमा रहेको ३ किलो जति स्याउ देखाउँदै उनले भने ‘आज बिहान स्याउ लिन कालीमाटी जाँदा कालीमाटीमा स्याउ छैन । अब पसलमा जति छ त्यति बेच्ने हो । चाइनाबाट सामान आउन बन्द भएपछि स्याउको अभाव भयो’ । विगत २१ वर्षको आफ्नो व्यवसायिक अनुभवमा आजसम्म अरू सामानको अभाव भए पनि स्याउ अभाव भएको भने पहिलो पटक थाहा पाउँदा उनी अचम्म मानिरहेका थिए।  

दाहालको जस्तै पसल सञ्चालन गर्दै आएकी लक्ष्मी ढकालको पनि अनुभव उस्तै छ।  उनले ९ वर्षदेखि कालीमाटीमा फलफूल तथा तरकारी पसल राखेर व्यापार गरिरहेकी छिन् । उनले कालीमाटीको अलावा बत्तिसपुतलिमा पनि तरकारी तथा फलफूल पसल राखेर आफ्नो व्यवसायलाई बिस्तार गरेकी छिन् । लक्ष्मीले  २ हप्ता अगाडि एक काटुन स्याउ ४२ सय रुपैयाँ मूल्य तिरेर ल्याएकी थिइन। तर,  शुक्रवार बिहान स्याउ ल्याउँदा भने एक काटुनको ७५ सय तिर्नु पर्‍यो। 

उनले भनिन् ‘२ हप्तामै स्याउको मूल्य दोब्बरले वृद्धि भएको छ । अब स्याउ अभाव भैसकेको छ । आजसम्म जति ल्याएका छौ त्यो मात्र बेच्ने हो अब स्याउ बेच्न सकिँदैन।' केही दिन अगाडि मात्र एक केजी स्याउ रु. २ सयमा बिक्री गरेकी उनी अहिले कम्तीमा ३५० रुपैयाँ प्रति किलो भन्दा काममा बेच्न नसकिने अवस्था आएको बताउँछिन् । उनी भन्दै थिइन्, 'आजको मूल्य हेर्दा एक केजी स्याउ अब ४ सय माथिमा बेच्नु पर्ने देखिन्छ त्यस कारण अब स्याउ नल्याउने निर्णय गरेकी छु।' 

उनले पसल थालेको ९ वर्षको अवधिमा यस्तो अभाव जम्मा २ पटक महसुस गरेको बताइन । बि.स. २०७२ सालमा भूकम्प गएको बेला र अहिले मात्र स्याउको अभाव भएको उनले सुनाइन् । 

कोरोना भाइरसको आतङ्क फैलिएसँगै स्याउको अभाव र मूल्यमा समेत उच्च वृद्धि भएको छ । नेपालमा खपत हुने गरेका स्याउमध्ये धेरै जसो उत्तरी छिमेकी मुलुक चीनबाट आउने भएको कारण त्यसको सहज आपूर्ति नहुँदा स्याउ महँगो भएको हो । 

फागुन १ गते झोले स्याउको औषत मूल्य रु. १३५ थियो। महिनाको अन्तिम दिन ३० गतेको औषत बजार मूल्य भने रु. २०५  रहेको छ । यसरी हेर्दा के देखिन्छ भने फागुन महिनामा मात्र स्याउको मूल्य डेढ गुणाले बढेको छ। त्यसो त स्याउको मूल्यमा अघिल्लो साताबाट भने स्थिरता रहेको देखिन्छ।  

कालीमाटी फलफूल तथा तरकारी बजारको एक हप्ता अगाडि अर्थात् फागुन २३ गते (शुक्रवार) न्यूनतम झोले स्याउको औषत मूल्य रु. २१५ रहेको थियो।तर,कालीमाटी फलफूल तथा तरकारी बजारले तोकेको मूल्यभन्दा खुद्रा पसलहरूले दोब्बर मूल्यमा स्याउ बिक्री गरिरहेको पाइन्छ । 

नेपाल तरकारी तथा फलफूल व्यवसायी महांसघका अध्यक्ष खोमप्रसाद घिमिरेले पनि चैत महिनााबाट स्याउ अभाव हुने बताए । उनले भने ‘१ महिना अघिदेखि स्याउ आएको छैन, कोलिस्टरमा भएको स्याउ चलाएका छौं स्टोर रित्तिदै गएको छ  त्यसैले स्याउ अभाव हुने देखिन्छ ।’ 

चाइनाबाट स्याउ नआउने भएपछि अब महांसघले तेस्रो मुलुकबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । महासंघले अब थाइल्याण्ड, न्यूजल्याड, अस्ट्रेलियाबाटबाट स्याउ मगाउने लागेको बताए । चाइनाबाट आएको स्याउ भन्दा थाइल्याण्ड र अस्ट्रेलियाबाट आएको स्याउ गुणस्तरीय र महँगो हुने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस