काठमाडौं । नेपाल पुनर्वीमा कम्पनीको आईपीओमा बुधबार ५ बजेर ४५ मिनेटसम्ममा १ लाख ८७ हजार २०० जनाले आवेदन दिएका छन् । यी आवेदकबाट २ अर्ब ४४ करोड २७ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बुधबारसम्म मागभन्दा ६२ प्रतिशत बढी आवेदन परेको छ । कम्पनीले चैत ४ गतेदेखि छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्मका लागि १ करोड ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुने निश्चित भएको छ ।
कम्पनीले कुल कित्ता मध्य ३ हजार ५ सय कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो । यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिने व्यवस्था छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरा शेयर एप मार्फत दिन सकिनेछ ।
यस आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन पछि पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ दशमलव ५६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस