aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ ।  कर्पोरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ ।

उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदैआएकामा बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार आजका लागि तीन स्थानमा विभिन्न मार्ग बनाएर खाद्यान्न बिक्री गरिएको थियो । सोअनुसार सामाखुसी, टोखा, ग्वङ्गबँु, गौरीगाउँ र  जाल्पाचोक क्षेत्रमा रु एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ । त्यस्तै बालाजु, नयाँबजार, खुसीबु, र चक्रपथ क्षेत्रमा रु ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा रु ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ ।

त्यस्तै कालीमाटी काउण्टरबाट आज मात्र रु ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उनले जानकारी दिए । तीन मोबाइल भ्यान र कार्यालयबाट गरी आज  मात्र रु तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । हाल लकडाउनका समयमा  हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस